माग सम्बोधन नगरे निर्वाचन बहिष्कार गर्ने चेतावनी


भक्तपुर, ७ वैशाख ।
गत फागुन २४ गतेदेखि नियमित रूपमा धर्नामा बस्दै आएका ज्येष्ठ नागरिकले सरकारले संविधानमा उल्लेख गरेको ज्येष्ठ नागरिकको हकअधिकारलाई कार्यान्वयनमा नल्याएमा आगामी निर्वाचन बहिष्कार गर्ने बताएका छन् । ज्येष्ठ नागरिक हकहित सङ्घर्ष समितिले आज भक्तपुरको लोकन्थलीमा आयोजना गरेको पत्रकारसम्मेलनमा सङ्घर्ष समितिका पदाधिकारीहरूले देशभरका ज्येष्ठ नागरिकले निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएका हुन् ।
सङ्घर्ष समितिका संयोजक महाप्रसाद पराजुलीले ज्येष्ठ नागरिकको हकअधिकारबारे संविधानमा उल्लेख भइसकेको र सर्वोच्च अदालतले समेत कार्यान्वयन गर्न आदेश दिइसकेको अवस्थामा सरकारले यसलाई कार्यान्वयनमा नल्याएकाले ज्येष्ठ नागरिकहरू आन्दोलनमा उत्रन बाध्य हुनुपरेको बताउनुभयो । उहाँले भन्नुभयो– निर्वाचन अगाडि हाम्रो मागलाई सम्बोधन नगरे आगामी निर्वाचनमा देशभरका ज्येष्ठ नागरिकले निर्वाचन बहिष्कार गर्ने गरी अभियान सञ्चालन गर्ने छौँ ।
ज्येष्ठ नागरिक सेवा समाज भक्तपुरका सचिव नयन्त्र खड्काले ज्येष्ठ नागरिकहरूले अब आन्दोलनको स्वरूपलाई परिवर्तन गरी सरकारलाई उनीहरूको संविधान प्रदत्त हकअधिकार दिन बाध्य पार्ने बताउनुभयो । ज्येष्ठ नागरिक सेवा समाज भक्तपुरका अध्यक्ष पुरुषोत्तम तिवारी, हिमालयन वृद्धाश्रमका संयोजक सरला पन्थीलगायतले ज्येष्ठ नागरिकको हकअधिकारलाई सरकारले कुण्ठित पार्न नुहुनेमा जोड दिनुभयो ।