सरकारी गाडीमा हाकिमको रजाइँ


सुर्खेत: मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र सुर्खेतका प्रमुख हेमन्त पौडेल कार्यालयको गाडी लिएर आफ्नो घर पर्वत पुगे। घरमा पुगेर उनले चैत २९ गते छोराको व्रतबन्ध सम्पन्न गरे। छोराको व्रतबन्ध गर्न उनी सुर्खेतबाट कार्यालयको बा १ झ ९११६ नम्बरको गाडी, चालक र इन्धनको प्रयोग गरेर घरमा पुगेका हुन्।
 
सरकारी गाडी लिएर घरमा पुगेका उनले मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतबाट कार्यालयको कामका लागि काठमाडौं जाने भन्दै गाडीको स्वीकृति लिएका छन्। कार्यालयको बेरुजू फस्र्योटका लागि काठमाडौं जाने भन्दै चैत २४ देखि वैशाख ३ गतेसम्मका लागि गाडीको स्वीकृति लिएका उनी बुटवल, पाल्पा हुँदै छोराको व्रतबन्ध गर्न पर्वतमा रहेको घरमा पुगेका छन्। त्यस क्रममा दोहोरोतर्फको यात्रामा करिब ३० हजार रुपैयाँको इन्धन खर्च भएको छ। कार्यालयको कामका लागि भन्दै कागज मिलाएर घर गएका कारण अब यो खर्च पनि कार्यालयले नै बेहोर्नु पर्नेछ।
नयाँ वर्षको पहिलो दिन बुधबार सार्वजनिक बिदा थियो। तर जिल्ला स्वास्थ्य कार्यालयका एक कर्मचारी कार्यालयको मोटरसाइकल लिएर वीरेन्द्रनगरमा आयोजित एक राजनीतिक कार्यक्रममा पुगेका थिए। मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको अन्तरक्रियामा पुगेका ती कर्मचारीले स्वास्थ्य कार्यालयको सेतो नम्बर प्लेटको भे १ ब ४६० नम्बरको मोटरसाइकल लिएका थिए। यो घटना त एउटा उदाहरणमात्र हो।
 
यस्तै सरकारी गाडीको दुरुपयोग गर्ने सरकारी कर्मचारीमा पौडेल केवल प्रतिनिधि पात्र हुन्। पछिल्लो समय जिल्लामा सरकारी कार्यालयका सवारीसाधनको दुरुपयोग बढ्दै गएको छ। कर्मचारीहरूले कार्यालयको काममा भन्दा आफ्नो व्यक्तिगत प्रयोजनका लागि सरकारी गाडीको दुरुपयोग गरिरहेका छन्। 
 
जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीले बिदाको समय र कार्यालय समयभन्दा बाहिर सरकारी गाडीको दुरुपयोग गरिरहेका छन्। कुनै पनि सरकारी कार्यालयका कर्मचारीले कार्यालयको काममा बाहेक सरकारी नम्बर प्लेटका सवारीसाधन चलाउनुपरेमा प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने कानुनी प्रावधान छ। यस्तै बिदाको समयमा पनि सरकारी गाडी चलाउन पाइँदैन।
तर सरकारी गाडीको दुरुपयोग रोक्ने जिम्मेवारी पाएको निकायले कारबाहीमा कडाइ नगर्दा कर्मचारी र तिनका आफन्तले सरकारी गाडीमा रजाइँ नै गरिरहेका छन्। जिल्लामा सरकारी कार्यालयका प्रमुख र कर्मचारीले शनिबार र सार्वजनिक बिदामा समेत सरकारी गाडीको दुरुपयोग गरेर आफन्तलाई बोक्ने, भ्रमणमा जाने, परिवारका सदस्यलाई सिकाउनका लागि प्रयोग गर्ने, होटेलमा खाजा खान जाने र विवाह तथा उत्सवमा सहभागी हुने गरेको पाइएको छ। 
 
यस्तै केही कर्मचारीले सरकारी गाडीमा घाँस र दाउरासमेत बोक्ने गरेका छन्। पछिल्लो समय कर्मचारीहरूले प्रशासनलाई गलत विवरण दिएर छल्न थालेका छन्। उनीहरूले कार्यालयको कामका लागि भनेर प्रशासनबाट स्वीकृति लिने र व्यक्तिगत काममा सरकारी सवारीसाधनको दुरुपयोग गरिरहेका छन्। 
 
अनुमति नै नलिई कर्मचारीहरूले आफ्नो पारिवारिक प्रयोजनका लागि सरकारी सवारीसाधनको दुरुपयोग गर्दासमेत सम्बन्धित निकायले कुनै चासो नदिएको गुनासो नागरिकहरूले गरेका छन्। स्वास्थ्य तालिम केन्द्रका प्रमुख हेमन्त पौडेलले यसअघि पनि गलत विवरण पेस गरेर सरकारी गाडी दुरुपयोग गरेको क्षेत्रीय प्रशासन कार्यालयले जनाएको छ। क्षेत्रीय प्रशासन कार्यालयका अनुसार अधिकांश क्षेत्रीय स्तरका कार्यालयका प्रमुखहरूले अटेर गर्ने गरेका छन्।
 
प्रशासनमा काठमाडौं जाने भनेर गाडीको स्वीकृति लिएका पौडेलले आफ्नो कार्यालयमा भने सोही अवधिमा नेपालगन्जमा हुने तालिममा सहभागी हुने भनेर काज मिलाएको पाइएको छ। कार्यालयका कर्मचारीहरूले भने पौडेल तालिममा सहभागी नभएर छोराको व्रतबन्धका लागि पर्वत पुगेको जानकारी दिए।
 
पौडेलले भने चितवन मुग्लिन खण्डमा सडक मर्मत भइरहेको र बाटो बन्द भएकाले आफू पाल्पाबाट पोखरा हुँदै काठमाडौं गएको दाबी गरेका छन्। यता जिल्ला प्रशासन कार्यालयले बिदाको समयमा पनि कार्यालयको काम गर्नुपर्ने भएमा सरकारी सवारीसाधन चलाउनका लागि अनिवार्य अनुमति लिनुपर्ने बताएको छ। 
 
प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले सरकारी सवारीसाधनको दुरुपयोग गर्नेलाई कुनै पनि हालतमा नछोड्ने बताए। उनले भने, ‘अनुमतिबिना बिदाको दिन र व्यक्तिगत काममा सरकारी गाडी प्रयोग गर्न पाइँदैन। अनुमतिबिना सञ्चालन भएको पाइएमा हामी कारबाही गर्छौं।’ उनले यसको नियन्त्रण गर्नका लागि आफूहरूले तत्काल प्रहरीलाई निर्देशन दिने जानकारी दिए।
सभा रः अन्नपूर्ण पोष्ट