ब्राजिलको हिले पार्टीः हिलोमै मदिरा र चुम्बन


नेपालमा धान रोपाईं हुँदा हिलो खेलेको दृष्य त हामीले धेरै देखेका छौं । तर, यो भन्दा चर्को ‘हिले उत्सव’ त ब्राजिलमा हुँदो रहेछ ।

गत शनिबार ब्राजिलको पाराटी भन्ने समुद्री तटमा रहेको शहरमा हिलो खेल्न सयौंको संख्यामा युवा-युवतीहरु ओइरिए । उनीहरुले स्वीमवेयर लगाएर कालो, बाक्लो, खनिजयुक्त हिलोमा डुबुल्की मार्दै रमाइलो गरेका थिए । यस उत्सवलाई यहाँ ‘ब्लोको द लामा’ भन्ने गरिएको छ । यो पोर्चुगिज शब्द हो जसको अर्थ हुन्छ, ‘हिले गल्ली पार्टी ।’

किंवदन्ति अनुसार ब्लोकोको सुरुवात सन् १९८६ बाट भएको हो । त्यतिबेला स्थानीय किशोर-किशोरीहरु लामखुट्टेलाई निरुत्साहित गर्नका निम्ति शरीरमा बाक्लो हिलो दलेर नजिकैको जंगलमा पैदलयात्रा गर्थे र त्यसपछि पाराटीमा बरालिन्थे । यसले पछि संस्कारकै रुप लियो । पछि पाराटीका पसलेहरुले हिलोमा डुबेर आएकाहरुले आफ्नो पसलका भित्ताहरु फोहोर गरेको गुनासो गरेपछि उनीहरुलाई शहरमा डुल्न रोक लगाइयो ।

यसको सट्टा उनीहरु समुद्री तटमा ब्राजिलियन गीत बजाएर नाच्ने, उफ्रिने र रक्सी पिउने गर्छन् । युवा-युवतीहरु हिलो पोतिएको अनुहारमै एक-अर्कालाई चुम्बन पनि गर्छन् । यसमा स्थानीय युवा-युवतीका साथै विदेशी पर्यटकहरु पनि उत्साहका साथ सहभागी हुन्छन् ।

पाराटी एउटा सानो शहर हो जुन रियो दे जेनेरियो र साओ पाउलोको बीचमा अवस्थित छ ।

साभारः अनलाइनखबर