नेपाली कामदार कुटिएपछि तीन दिनदेखी भेरी–बबई डाइभर्सनको काम ठप्प


सुर्खेत । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा कार्यरत एक चिनियाँले नेपाली मजदुर कुटेपछि तीन दिनदेखि कामकाज ठप्प भएको छ । निर्माण कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड (कोभेक) मा आबद्ध एक चिनियाँले आइतबार साँझ नेपाली कामदार देबेन्द्र खत्रीलाई कुटपिट गरेपछि आयोजनाको काम ठप्प हुन पुगेको हो ।bheri-babai

नेपाली कामदारले कुटपिटमा संलग्नलाई कारबाहीसहित विभिन्न माग राखी सोमबारदेखि हड्ताल गरेको छ । नेपाली कामदारले हड्ताल आव्हान गरेपछि निर्माण कम्पनीले कुटपिटमा संलग्न चिनियाँ कामदारलाई मंगलबार आयोजनाबाट हटाइदिएको छ । उनले नेपाली कामदार देवेन्द्र खत्रीलाई गाडी सफा नगरेर पार्किङमा राखेको भन्दै दाउराले हिर्काएका थिए ।                                          फायल तस्वीर ।

कुटपिटमा खत्रीको ढाड र मुखमा चोट लागेको छ । घाइतेको कोहल्पुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको आयोजनामा कार्यरत मेघराज चौधरीले जानकारी दिए । उनले माग पूरा नहुञ्जेल हड्ताल कायमै राख्ने चेतावनी दिए ।

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर मिनराज ढकालले नेपाली मजदुरका माग पूरा गर्न वार्ता भइरहेको जानकारी दिए । कुटपिटमा संलग्नलाई कारबाही, साप्ताहिक छुट्टी ९शनिबार० काम गरेपछि दोब्बर तलब पाउनुपर्ने, कामदारलाई सम्मानजनक व्यवहार गर्नुपर्ने लगायतका १० बुँदे माग गरिएको छ छ । ‘प्राइभेट कम्पनीले बिदाको दिन काम गरेको तलब दिन सक्दैन् ।

यो बाहेक अन्य मागहरु पूरा गर्न सकिने खालका छन्’ इन्जिनियर ढकालले भने, ‘कामदारलाई मनाएर आयोजनाको काम सञ्चालन गर्ने प्रयत्नमा लागिरहेका छौं । वार्ता भइरहेको छ ।’ हड्तालका कारण टनेल खन्ने काम अवरुद्ध भएको छ । चिनियाँ र नेपाली गरी दुई सय ८६ जना कामदार छन् ।

नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिन ९टिबिएम०मार्फत आयोजना निर्माण गर्न लागिएको छ । भेरी र बबई नदीबीचको १२ किमि लामो चुरे पर्वत खन्न यो मेसिन प्रयोग हुँदैछ । निर्माण कम्पनीले टिबिएम मेसिन आगामी आवभित्र चीन वा अमेरिकाबाट ल्याउने जनाएको छ । भेरीको पानीलाई बबईमा फर्काएर सिँचाई र विद्युत उत्पादन गर्ने उद्देश्यले निर्माणाधिन यो राष्ट्रिय गौरवको आयोजना हो । सिँचाई विभाग र कोभेकबीच ०७१ माघमा निर्माण सुरु गरी ०७५ फागुनमा सम्पन्न गर्ने सम्झौता भएको हो ।

सुर्खेतको भेरी–गंगा नगरपालिकाको छिन्चु–जाजरकोट सडक खण्डको चिप्ले भन्ने स्थानमा १५ मिटर अग्लो बाँध बनाई १२ किमि लामो सुरुङमार्फत भेरी नदीको प्रतिसेकेण्ड ४० घनमिटर पानीलाई बबईमा फर्काइनेछ । बबईमा फर्काइएको पानीबाट ४८ मेगावाट विद्युत् तथा बाँके र बर्दियाको ५१ हजार हेक्टरमा सिँचाई सुविधा उपलब्ध गराइने उद्देश्य छ । सुरुङ निर्माण सकिनेबित्तिकै ड्याम र विद्युत्‌गृह पनि तयार भइसक्नेछ ।

स्वदेशी लगानीमा निर्माण हुने लागेको आयोजनाको कूल लागत साढे १६ अर्ब लाग्ने अनुमान छ । बाह्रै महिना सिँचाई उपलब्धताबाट कृषि उत्पादन बढ्न गई आयोजनाबाट वार्षिक ३ दशमलव १ अर्ब अप्रत्यक्ष तथा विद्युत्‌बाट दुई दशमलव १ अर्ब प्रत्यक्ष आम्दानी हुने अनुमान गरिएको छ ।