डा. को दशैं अवधिभर आमरण अनसन स्थगित


Dr.-Govinda-KC२१ असोज, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले एकतर्फी रुपमा दशैं अवधिभर आमरण अनसन स्थगित गरेको घोषणा गरेका छन् ।

चारबुँदे माग राखेर अनसन सुरु गरेको १२ दिन राति ९ बजे उनले पत्रकार सम्मेलन गरेर दशैंभरका लागि अनसन स्थगित गरे । उनले भनेका छन्, दशैंको समयमा हाम्रो सत्याग्रह जारी राख्दा आम नागरिकहरुको दशैं पर्व खल्लो हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै मैले दशैंभरको अवधिका लागि आजैको दिनदेखि सत्याग्रहको कार्यक्रम स्थगित गरेको जानकारी गराउँछु ।’

तर, पूर्णिमा लगतै फेरि अनसन सुरु गर्नेछन् ।

डा. केसीले अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनु पर्नेसहितका चारबुँदे माग राखेर असोज १० गते अनसन सुुरु गरेका थिए । यो बीचमा सरकार र डा. केसीका प्रतिनिधिबीच अनौपचारिक सम्वादहरु भएपनि सहमति हुन सकेन ।

डा. केसीका प्रतिनिधिले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएमको डिन नियुक्ति र शूल्क निर्धारण समितिको प्रतिवेदन खारेज गरे अनसन रोक्ने संकेत दिएका थिए ।

१२ दिनदेखि सत्याग्रहको समयमा राज्यले चरम संवेदनविहीनता, गैर जिम्मेवारीपन र लाचारी देखाएको उनले बताए । झण्डै छ सय व्यक्तिहरु सदस्य रहेको संसदमा भ्रष्ट र माफिया भएको प्रमाणित भइसकेका लोकमान सिंह कार्कीमाथि महाभियोगको संसदीय प्रक्रिया अघि बढाउन आवश्यक तीन संख्या पनि नपुग्नु हाम्रो लोकतन्त्रकै लागि लज्जाको विषय हो, उनले भनेका छन् ।

किन नियुक्त हुन सकेन डिन ?

डा. केसीको अनसन तोडाउन प्रधानमन्त्री प्रचण्ड, शिक्षामन्त्री धनिराम पौडेल र स्वास्थ्यमन्त्री गगन थापाले पहल गरेका थिए । यो बीचमा केही अनौपचारिक सम्वाद पनि भयो ।

तर, दशैं विदा सुरू हुनु अघि डिन नियुक्ति हुन सकेन । स्रोतहरुका अनुसार डा. केसीले आईओएमको डिनमा जेपी अग्रवाललाई नियुक्त गर्नु पर्ने शर्त राखेका थिए । सरकारले सुरुमा विकल्प मागेपछि अन्तिम छलफलहरुमा प्रधानमन्त्री प्रचण्डले अग्रवाललाई नै भएपनि डिन नियुक्त गरौं भनेका थिए ।

तर, त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँ अख्तियारलाई देखाउँदै सहमत भएनन् । त्रिविले आफ्नो तालुखदार मन्त्रालय शिक्षाको निर्देशन समेत पालना गरेन । बरु, महान्यायाधीवक्ताको कानुनी राय माग्यो ।

शुक्रबार महान्यायाधीवक्ताको कार्यालयले के राय मागेको हो प्रष्ट नभएको बताएपछि डिन नियुक्त गर्ने प्रधानमन्त्रीसहितको पहल असफल भएको बालुवाटार स्रोतले बताएको छ ।

साभारः अनलाइन खबर