

९ भदौ, कञ्चनपुर । निर्मला पन्तको हत्याको अनुसन्धान गर्ने क्रममा प्रहरीले शनिबार बिहान बबिता बम र आँचल भनिने रोशनी बमलाई पक्राउ गरेको छ । उनीहरु दिदी बहिनी हुन् ।
भीमदत्त नगरपालिका वडानम्बर १८ स्थित आफ्नै घरबाट बम दिदी बहिनी पक्राउ परेका हुन् ।
निर्मला पन्त सोही घरमा गृहकार्य गएका बेला वेपत्ता बनेकी थिइन् । सो घरमा उनी आफूसँग पढ्ने साथी १८ वर्षीया रोशनीलाई भेट्न गएपछि बेपत्ता बनेकी हुन् ।
यसअघि प्रहरीले उनीहरुलाई सुरक्षाका लागि कार्यालयमा राखे पनि हिरासतमा लिएको थिएन ।
दुई तले घरमा बबिता र रोशनी मात्रै बस्दै आएका थिए । उनीहरुका बुवाआमा दार्चुलामा बस्दथे । निर्मलाको हत्यापछि भने बाबुआमा सोही घरमा आएर बस्दै आएका छन् ।
निर्मला हराएको दिन साउन १० गते अपराह्न पाँच बजे निर्मलाकी आमाले सो घरमा पुगेर छोरीबारे खोजतलास गर्दा बबिताले उनी दुई बजे नै यहाँबाट हिँडेको र अम्बा दिएर पठाएको बताएकी थिइन् । तर, घरमा आइन त भन्दा बबिताले ‘पोइल गइहोला’ भन्ने जवाफ फर्काएकी थिइन् ।
भोलिपल्ट बिहान उखुबारी छेउमा निर्मलाको साइकल फेला परेपछि बबिताले ‘लास पनि त्यतै होला’ भनेको पीडित परिवारको दाबी छ ।
दुवै दिदी बहिनीको पोलीग्राफ परीक्षण गर्ने प्रहरीले बताए पनि अहिलेसम्म उनीहरुमाथि अनुसन्धान भएको थिएन ।
दुई जना मात्रै बस्दै आएको उक्त घरमा बम दिदी बहिनीलाई भेट्न एसपी डिल्लीराज विष्टका छोरा र मेयर सुरेन्द्र विष्टका भतिज प्रायजसो आइरहने गरेको स्थानीयबासीको भनाइ छ ।
प्रहरीले यही विषयमा बुझ्नका लागि उनीहरुलाई पक्राउ गरेको हो ।
साभारः अनलाईन खबर ।
Milan Shrestha । ९ भाद्र २०७५, शनिबार ०६:३१ बजे