रु छ लाख खर्चेर शिक्षकको शव घर लगियो


डोल्पा, ४ असोज । उपल्लो डोल्पामा मृत्यु भएका एक शिक्षकको शव रु छ लाख खर्च गरी छ दिनपछि आज हेलिकप्टरबाट घर लगिएको छ ।

सल्यान दारमाकोट–५ का दशरथ चन्दको शव हेलिकप्टर चार्टर गरी लगिएको हो । चन्दको जन्डिसका कारण गत भदौ ३० गते मृत्यु भएको थियो । उनी साल्दाङ– ८ स्थित दशरथ चन्द प्राथमिक विद्यालयमा अध्यापन गर्दै आएका थिए ।

उनको शव घर लैजान जिल्ला शिक्षा समितिले रु तीन लाख, सभासद् धनबहादुर बुढाले रु एक लाख र साल्दाङ गाविसले रु दुई लाख आर्थिक सहयोग गरेका थिए ।

प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार मौसम खरावीका कारण शव घर लैजान ढिलाइ भएको हो । चन्दको शव विद्यालयबाट एक दिनको पैदल दूरीमा बोकेर प्रहरीले धो गाविससम्म ल्याइपुर्याएको थियो ।

साभारः खबरइरा अनलाइन