
१९ फागुन, सुर्खेत । कर्णाली प्रदेशका उद्योगी, व्यापारीहरुलाई यस क्षेत्रको हाइड्रोपावरमा लगानी गर्न आग्रह गरिएको छ । आज (आइतबार) वीरेन्द्रनगरमा आयोजित “रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले डुङ्गेश्वर गाउँपालिका वडा नं. ४, व्यूराखेतमा निर्माण गरिरहेको अपरपराजुली खोला २.१५ मेगावाट जलविद्युत आयोजनाको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा यस्तो आग्रह गरिएको हो ।
कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य ठम्मरबहादुर विष्टले जलविद्युतको प्रचुर सम्भावना भएको कर्णाली प्रदेशमा प्रर्याप्त लगानीको अभाव रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो “यस क्षेत्रका उद्योगी, व्यापारीहरुले अव जलविद्युतका क्षेत्रमा लगानी गर्नुहोस । हामीले उत्पादन गरेको विद्युत आन्तरिक रुपमा खपत गर्दै बाहिर निकासी गर्न सक्छौं । लगानी भित्र्याउन प्रदेश सरकार राजश्व छुटदेखि प्रारम्भिक पूर्वाधार निर्माणमा जुटेकोछ ।
“जलविद्युत उत्पादनबाटै कर्णाली प्रदेशलाई समृद्ध बनाउन सकिने बताउँदै सांसद विष्टले यस क्षेत्रमा लगानी गरेर मनग्य आम्दानी लिन उद्योगी, व्यापारीहरुलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले अपरपराजुली खोला जलविद्युत आयोजना प्रदेशको पहिलो सिढि भएकाले यसलाई पूर्णता दिन आयोजनामा लगानी गर्न उद्योगी, व्यवसायीहरुलाई आग्रह गर्नुभएको थियो ।
अध्यक्ष रावतले भन्नुभयो “आयोजनाका बारेमा राम्रोसंग अध्ययन गरेर त्यसलाई पूर्णता दिन आवश्यक पर्ने लगानी गर्न सबैमा आग्रह गर्दछु ।”
सुर्खेत उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विष्णु बहादुर शाहीले उद्योगका लागि विद्युत पहिलो आवश्यकता भएकाले विद्युत उत्पादनमा जोडदिनुपर्ने बताउनुभयो । उहाँले “कम्पनीले निर्माण गरिरहेको अपर पराजुली खोला जलविद्युत आयोजनामा लगानी गर्ने विश्वासको वातावरण आवश्यक छ ।” निर्माण सुरु भएपनि लामोसमय सम्म पूर्णता नपाउनु दुखद् भएको भन्नुभयो ।
रारा हाइड्रोपावर डभलेपमेन्ट कम्पनी लिमिटेडका अध्यक्ष नरसिंह मल्लले विद्युत प्राधिकरणले उत्पादित विद्युत राष्ट्रिय प्रशारणमा जोड्ने पूर्वाधार लामो समयसम्म निर्माण नगर्दा आयोजना पछाडि सरेको बताउनुभयो ।
“३३ केभिए प्रशारणलाई नहुँदा आयोजना निर्माणमा ढिलाई भयो । बजारमूल्य, वित्तिय संस्थाको व्याजका कारण आयोजना निर्माण सम्पन्न हुँदा केही महंगो पर्न गएको छ ।” आयोजना अन्तिम चरणमा भएकाले केही पुँजीको अभाव हुँदा संस्थापक शेयर सदस्य बन्न चाहने लगानी कर्ताहरुलाई शेयर लिन आग्रह अध्यक्ष मल्लले गर्नुभयो ।
“हामी अव उत्पादनको चरणमा छौं । केही पुँजी अभाव हुँदा नयाँ शेयर सदस्यता भित्र्याउने कम्पनीको योजना रहेको छ ।” न्यूनतम ५ लाखदेखि अधिकतम ५० लाखसम्म लगानी गर्न इच्छुक लगानीकर्ताहरुले स्थलगत अध्ययन, अवलोकन गरेर लगानी गर्न अध्यक्ष मल्लले आग्रह गर्नुभयो ।
कम्पनीले २०७५ फागुन मसान्तसम्म प्रति कित्ता ११५ रुपैयाँ र चैत्र मसान्तसम्म प्रति कित्ता १५० रुपैयाँका दररले सेयर लगानीको आव्हान गरेको छ । २.१५ मेगावाट क्षमताको विद्युत आयोजना निर्माणमा एभरेष्ट बैंक, सिद्धार्थ बैंक र मेघा बैंकको ७० प्रतिशत र शेयर सदस्यहरुकोे ३० प्रतिशतमा करिव ५५ करोडको लागतमा निर्माणको अन्तिम चरणमा रहेको छ ।
कार्यक्रममा कम्पनीका परियोजना प्रमुख तथा इन्जिनियर चित्रलाल विश्वकर्माले आयोजना प्रगति अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । आयोजना अन्तिम चरणमा रहेको बताउँदै बैशाख महिनाभित्र विद्युत उत्पादन गरी राष्ट्रिय प्रशारणलाईनमा जडान गर्ने तयारी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो “विद्युत उत्पादन सुरु भएको १० बर्षमा बैंकको ७० प्रतिशत लगानीमा रहेको साँवा र व्याज चुक्ता गरिनेछ ।
”बार्षिक आम्दानी साढे ६ करोड ६१ लाख ४५ हजार हुने जनाइएको छ । कम्पनीले विद्युत प्राधिकरणसंग सुख्खा मौसममा प्रति युनिट ८.८० पैसा र बर्षादको समयमा ४.८० पैसाका दरले खरिद, विक्रि सम्झौता भएको जनाइएको छ ।
२७ सय मिटर कुलो निर्माण गरी १४४० मिटर पाइपलाइनबाट झारेर विद्युत उत्पादन गरिनेछ ।



Prawash Kumar Shakya । १९ फाल्गुन २०७५, आईतवार १८:४२ बजे