
१ मंसिर । सुर्खेतका सहकारी अभियान्ताहरुले सहकारी संस्थाभित्रका जोखिम व्यवस्थापनका लागि सञ्चालक समिति सक्रिय बन्नुपर्नेमा जोड दिएका छन् ।
सञ्चालक समितिहरु सक्रिय हुन नसक्दा धेरै सहकारीहरु खुल्ने तर गतिलो तरिकाले सञ्चालन हुन नसकेका भन्दै उनीहरुले यस्तो बताएका हुन् ।
व्यवसायिक सीप विकास तालिम केन्द्र (पिएसडि) सुर्खेतले आयोजना गरेको सहकारीमा जोखिम व्यवस्थापन विषयक लघु कार्यशाला गोष्ठीमा डिभिजन सहकारी कार्यालय सुर्खेतका प्रमुख देवी प्रसाद पौडेलले सहकारी संस्थामा पछिल्लो समय नीजिकरण बढ्न थालेको बताउनुभयो । उहाँले सहकारीलाई सामूहिक तथा सार्वजनिक रुपमै अघि बढाउन जरुरी रहेको बताउनुभएको छ ।
आफूहरुले सुर्खेत, दैलेख र जाजरकोटका ८० प्रतिसत सहकारीको अनुगमन गरेको पौडेलको भनाई छ ।
यस्तै जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृत विसीले सहकारीभित्र जोखिम व्यवस्थापनका विषयमा सहकारीभन्दा बाहिरबाट पिएसडिले पहल गरिरहेको भन्दै प्रशंसा गर्नुभयो ।
सुर्खेत प्रदेशनम्वर ६ को राजधानी भएकाले यस प्रदेशभरका सहकारीले सिक्नेगरी सुर्खेतका सहकारीहरु उदाहण बन्न सक्नुपर्ने बताउनुभयो ।
धेरै नागरिकहरु सहकारीमा आवद्ध भएका भए पनि सहकारीको मर्म नबुझिरहेको उहाँको भनाई छ ।
गोष्ठीमा राष्ट्रिय सहकारी संघका सञ्चालक पदम दाहालले एउटै प्रकृतिका धेरै सहकारीहरुमा दोहोरो सदस्यता लिइरहेको पाइएकाले त्यस्ता सहकारीहरुबीच पनि एकीकरणको आवश्यकता रहेको बताउनुभयो ।
गोष्ठीमा पिएसडिका प्रवन्ध निर्देशक प्रेमकुमार विसीले सहकारी संस्थामा विद्यमान जोखिमलाई कम गर्न र सहकारीकर्मीहरुकै अनुभवलाई साटासाट गर्नका लागि गोष्ठीको आयोजना गरिएको बताउनुभयो ।
उहाँकाअनुसार गोष्ठीमा सुर्खेतस्थित विभीन्न २५ वटा सहकारी संस्थाका अध्यक्ष तथा व्यवस्थापकहरुको सहभागिता थियो ।
साभारः जागरणएफएम
Prawash Kumar Shakya । १ मंसिर २०७४, शुक्रबार ११:३९ बजे