दाम्पत्यको सिरक


– डा. सुबोधकुमार पोखरेल

सरसर्ती हेर्दा र विवाहको औपचारिक परिभाषा पढ्दा दाम्पत्य आवश्यक तर नीरस प्रक्रियाजस्तो लाग्न सक्तछ । कानुनका दृष्टिमा करार, धर्मका दृष्टिमा संस्कार, समाजका दृष्टिमा घरबार— यसभित्र कहाँ छ त्यो अन्तरवस्तु जसले यसको निरन्तरताको प्रत्याभूति दिन्छ ? कहाँ छ त्यो रस जसले यसलाई सिञ्चन गरेर जीवित राख्तछ ? यी प्रश्न गर्दै गर्दा एकातिर प्रेमविवाहका पक्षधरहरू प्रेमको महत्वलाई नबुझेको भनी खिसी गरिरहेका हुन सक्तछन् भने अर्कातिर समाजशास्त्रीहरू संस्थागत विवाहको सफलतालाई बुझ पचाएको भनी गुनासो पोखिरहेका हुन सक्तछन् ।
एक किसिमले यो स्वाभाविक पनि हो । तर दाम्पत्य जीवनको सफलताको अन्तरवस्तु विवाहअगिको प्रेम भएको भए धेरैजसो प्रेमविवाह पारपाचुकेमा परिणत हुनु अथवा निरर्थक आत्मघाती झगडामा व्यस्त हुनु नपर्ने हो । संस्थागत विवाहमा बढी स्थायित्व हुने भए यस्ता विवाहबाट स्थापित दाम्पत्य जीवनको सफलता आंशिक नभएर शतप्रतिशत हुनुपर्ने हो । त्यसैले, प्रश्न जिउँदै छ भत्र केको आपत्ति ! सन्तान उत्पादन दाम्पत्य जीवनको सफलताको एकमात्र सूत्र भइदिएको भए अदालतमा छोराछोरी कसले हुर्काउन पाउने भत्रे मुद्दाहरूको चाङ नलाग्नुपर्ने हो ।
आज समलिङ्गी पुरुष (गे) र समलिङ्गी महिला (लेस्बियन) सम्बन्ध अनि विवाह÷दाम्पत्यका कुरा मानव अधिकारका रूपमा उठ्तै छन् । आफ्नो लैङ्गिकताको पहिचान शरीरले होइन आत्माले गर्ने हो भत्रे कुरालाई मात्रे हो भने ती सबैलाई पनि त छाडापनका उपजमात्र भनेर उम्कन नमिल्ला ! त्यसले पनि दाम्पत्य जीवन रक्षाका लागि सन्तान प्राप्तिको भरपर्दोपनलाई हाँक दिएकै छ । सम्पत्ति र हैसियतको साझेदारीलाई दाम्पत्य जीवनको निरन्तरताको एकमात्र वा सबैभन्दा ठूलो कारण मात्रे परिभाषालाई प्रेमिकाका लागि सम्राट्को पद त्याग गर्ने बेलाइती राजपुरुष एडवार्ड आठौँ र पतिबाट धोका पाएपछि भविष्यकी साम्राज्ञीको पदत्याग गर्ने बेलाइती युवराज्ञी डायनाको उदाहरण अनि नेपालकै राजशाहीका धीरेन्द्र र दीपेन्द्रका घटनाहरूले झापड दिएका छन् । अरू सानातिना राजारजौटा वा सामन्त धनवान्हरूको सूची उतार्ने हो भने छुट्टै किताब तयार हुन सक्तछ । यता तान्दा उता नमिल्ने उता तान्दा यता नमिल्ने जाडाको सिरकजस्तो कस्तो सूत्र होला त दाम्पत्य जीवन रक्षाको ?
बेलाइती वकिलहरूको प्रतिनिधि संस्थाले हालसालै सम्पत्र गरेको विशेष सर्वेक्षण (इन्व्रिmजिङ डिभोर्सेज इन वेस्टर्न युरोप, सन् २००५)ले दिनहुँ बढ्दै गएको पारपाचुकेको प्रमुख कारण “पति–पत्नीबीचमा सम्भोग सुख आदानप्रदानमा विफलता” भएको निष्कर्ष निकालेको छ । यस सर्वेक्षणको निष्कर्ष नै यस प्रश्नको सजिलो उत्तर हुँदो हो त यसले पक्षाघात भएर वा सडक दुर्घटना भएर शरीरको तल्लो भाग नचल्ने कारणले सम्भोग सुख प्राप्त गर्न नसक्ने कैयौँ व्यक्तिहरूले बिताइरहेको अटुट दाम्पत्य सम्बन्ध अनि रोगी पति÷पत्नीको सह्यारमा आफ्नो जीवनको साथर्कता देख्ने कैयौँ दम्पतीहरूका मनोभावनाको पनि व्याख्या गर्न सक्नुपर्दथ्यो ।
यी सबै कुराहरूलाई एक ठाउँमा राख्ता यो अड्को थाप्ने प्रश्नजस्तो लागे पनि कुरा त्यसो होइन । दाम्पत्य जीवन मानव जीवनको जटिलतम तर सर्वाधिक महत्वपूर्ण सम्बन्ध हो । त्यसभन्दा पनि जटिल चाहिँ मानिसको निरन्तर परिवर्तनभोगी स्वभाव हो । नितान्त फरकफरक वंशानुगत गुण (जिन) बोकेर अलगअलग पारिवारिक वातावरणबाट आएर एकदमै सकारात्मक परिणामको आशाविना जीवनको सबैभन्दा ठूलो साझेदारीको स्थापना गर्न सकिँदैन । कसैले पनि भोलि छुट्टिने जानीजानी वा भरेदेखि झगडा गर्न अहिले लगनगाँठो कस्तैन । तर यस्तो उच्चाकाङ्क्षी सम्बन्धका जोखिम पनि कम हुँदैनन् । निरन्तर सँगसँगै बस्ता क्षणक्षण बदलिँदो परिस्थितिमा पुरुष र स्त्रीका अलगअलग प्राथमिकता र सहनशक्तिका कारण स्वाभाविक रूपमा उत्पत्र हुने एकनासेपन र द्वन्द्वलाई व्यवस्थापन र समन्वय गर्न मानवीय शक्तिले मात्र पुग्दैन; सृष्टिकर्ताले विकास गरेको अलौकिक संयन्त्र पनि चाहिन्छ ।
धन, माया, आपसी सम्मान र सुरक्षासहितको संस्थागत सम्बन्ध, सन्तानको जन्मबाट हुने साझेदारीको अनुमोदन अनि शारीरिक र मानसिक रूपमा बराबरीको तहमा भोग गरिने सम्भोगजस्ता बहुपक्षीय बन्धनहरूको आ–आफ्नै महत्व छ र सबै महत्वपूर्ण पनि हुन्, तैपनि मुख्य अन्तरवस्तु आर्कै छ जुन यस सम्बन्धलाई पूर्ण दिगो बनाउन नभई हुँदैन । यसले दाम्पत्य जीवनको स्वाभाविक एकनासेपनलाई मेटेर त्यसमा सधैँ चटपटे स्वाद र रहस्य थपिरहन्छ ।
मानिसले व्यवस्थापन गर्न सक्ने तत्वहरूको क्षतिपूर्ति एक–अर्काबाट गर्न गराउन सकिन्छ, तर यसको क्षतिपूर्ति मानिसबाट हुँदैन । हो, उसले गोडमेल गरेर यसलाई जोगाइराख्न भने सक्तछ । त्यस तत्वको अभावमा दाम्पत्य प्राणविनाको शरीरजस्तो हुन्छ । मानिसले सम्बन्धमा आउन सक्ने जटिलताहरूको व्यवस्थापन गर्न यन्त्र बनाउन सकेको छ, संयन्त्र बनाउन सकेको छैन र सम्भवतः सक्ने पनि छैन । किनभने भावनालाई नियन्त्रण गर्ने संयन्त्र मानिस आफैँले बनाउन सक्नेबित्तिकै बाँच्नुको रोमाञ्च पनि सिद्धिन्छ । पुरुष र स्त्रीबीचको अत्यावश्यक र अपरिहार्य त्यो अन्तरवस्तु सृष्टिकर्ताले बनाएको संयन्त्र हो । त्यो संयन्त्र हो— रोमान्स !

……………………………………………………………………………………..
पुस्तक : सृष्टिको रोमान्स बाट