
११ असोज, झापा । गत २६ साउनको बाढीबाट घरबाट विस्थापित बनेकी झापा गाउँपालिका-३ बालुवाटारकी ६० वर्षीया सुनिता राय सोमबार धान उसिन्दै थिइन् ।
सानो माई नदी गाउँ पस्दा घरमा राखिएको धान त्यसमा डुबेर कामै नलाग्ने बन्यो । त्यही धान उसिनेर दशैंका लागि खान्कीको जोहो गर्दै थिइन्, उनी ।
‘मिठो पो हुन्छ कि हुँदैन,’ रायले भनिन् । उनले यसपालि जमरा राख्न पाइनन् । ‘खाने चामल त छैन, जमरा कसरी राख्नु ?’ प्रतिप्रश्न गरिन् ।
उनका एक छोरा वैदेशिक रोजगारीका क्रममा खाडीमा छन्, छोरी मात्र घरमा छिन् । ‘छोराको कमाइ पनि राम्रो छैन,’ मलिन अनुहार बनाउँदै भनिन्, ‘आफैंलाई खान मात्र ठिक्क छ उसलाई ।’
विगतमा जस्तो यसपालि टीका थाप्न आफन्तकामा जाने योजना छैन, उनको । त्यही उसिना चामलले पेट भरेर दशैं कटाउने सोचमा छिन् ।
सोही टोलीका ५८ वर्षे दुर्गा मुर्मुको परिवार अझै आफन्तकामा शरणार्थी बनेको छ । बाढीमा डुबेको घर बसिसक्नु छैन । छरछिमेकीले दशैंको जोडजाम गरिरहेको देख्दा उनको मन कुँडिन्छ ।
मनमा जति पीडा भए पनि उनले दशैं मेला घुम्न जाने योजना भने बनाएका छन् । स्थानीय झापा बजार, कामाटोली, मदरमाछ र पन्थापाडामा दशैं मेला लाग्छन् । मेलामा आउने साथीभाइ भेटेर पीडा भुल्ने योजनामा छन्, उनी ।
मुर्मु सन्थाल समुदायका हुन् । उक्त समुदायले दशैंमा विशेष नृत्य देखाउने गर्छ । मुरली, झ्याम्टालगायत बाजागाजासाथ गाउँ-शहरमा नाच्दै हिँड्छन्, उनीहरु ।
यस पटक भने सन्थाल नृत्यको रौनक छैन, गाउँमा । बाढीले घर मात्र होइन, मन पनि भत्काएको छ । कसरी नाचगानमा रमाउन सक्थे उनीहरु ।
स्थानीय मनिका किस्कुको परिवार बाढीले लखेटेपछि पाँच दिनसम्म वडा कार्यालयमा शरणागत बन्यो । दशैंले छोपिसक्दा के खाएर पेट भर्ने चिन्तामा छ, उनको परिवार ।
बाढी पीडितलाई विभिन्न संघसंस्थाले राहत उपलब्ध गराइरहे पनि त्यो नगण्य मात्रामा छ । उनीहरुको कष्टप्रद दैनिकी फेरिएको छैन ।
झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहका अनुसार बाढीका कारण बालुवाटारमा मात्र ७८ परिवार विस्थापित भएका थिए । बाढीले ज्यान लिएका १० मध्ये दुई जना बालुवाटारकै थिए ।
साभारः अनलाईन खबर ।



Milan Shrestha । ११ आश्विन २०७४, बुधबार ०९:३० बजे