आइतवार देखि बाँकेमा १ साताकालागि शैक्षिक संस्था बन्द


३ बैशाख, बाँके । कोरोना भाइरस कोभिड १९ को संक्रमण दर पुनः बढे संगै बाँके जिल्लामा १ साताकालागि शैक्षिक संस्थाहरु बन्द गरिने भएको छ ।

नेपालगन्ज उप–महानगरपालिकामा शुक्रवारदेखि शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरिएको छ । भारतमा कोरोनाका संक्रमितहरु बढे संगै भारतबाट नेपाल फर्किनेहरुमा पनि संक्रमण देखिन थालेपछि बाँकेमा कोरोनाको उच्च जोखिममा परेको हो ।

बाँकेमा हिजो मात्र १ सय २३ जनामा संक्रमण पुष्टि भएको थियो । नेपालगञ्जमा पछिल्लो समय कोभिड संक्रमण उच्च गतिमा बढेपछि बसेको नेपालगञ्ज उप–महानगरपालिका विपद् ब्यवस्थापन समितिकोबैठकले एकसाताका लागि सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको उपप्रमुख उमा थापा मगर बताउनुभयो ।

‘विद्यालयमा संक्रमण तीव्र रूपले फैलिएकाले आजै शुक्रवारबाटै पठनपाठन बन्द गर्ने निर्णय गरेका हौं,’ तर सबैलाई जानकारी पुर्‍याउन आइतबारबाट बन्द गर्ने निर्णय भयो ।’ उपप्रमुख थापाले भन्नुभयो ।

बाँके जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले भारतबाट आउनेहरुको सीमानाकामा स्वास्थ्य परीक्षण तथा एन्टिजिन परीक्षणका लागि थप कडाई गर्ने निर्णय गरेको छ । माक्स अनिवार्य लगाउने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गर्दै बजार अनूगमनलाई पनि कडाई गर्ने निर्णय बैठकले गरेको छ ।