टनेल मेसिनबाट सुरुङ्ग खन्ने काम शुरु


विमला खड्का

११ असोज । सुर्खेत । राष्ट्रिय गौरवको भेरी बबई डाईभर्सन बहुउदेश्यीय आयोजनाको सुरुङ खन्नका लागि ल्याइएको टनेल बोरिङ मेसिनले (टिविएम) आज (बुधबार) देखि सुरुङ खन्ने काम सुरु गरेको छ । चिनबाट भित्र्याइएको टनेल बोरिङ मेसिन जडान गरि सुरुङ खन्ने कार्य थालिएको हो । भेरीको पानी बबईमा खसाल्नका लागि १२ किलोमिटर सुरुङ टनेल बोरिङ मेसीनले खन्ने भएको हो ।

सिचाइ मन्त्री संजय गौतमले सुरुङ खन्न प्रयोग गरिने टनेल बोरिङ मेसिनको स्विच थिचेर उद्घाटन गरेका छन् । टिविएमलाई राख्नकालागि आयोजना स्थलमा डेढ सय मिटर सुरुङ मजदुरबाट खनिएको थियो । निर्धारित समयमा टिविएम मेसिन टनेलमा राखि काम सुरु गर्न थालेको सिचाई मन्त्री संजय गौतमले बताए । यो आयोजना सफल भए नेपालले सडक सिचाईलगायतका विकास निमार्णमा ठुलो फड्को मार्ने उनको भनाई छ । राष्ट्रिय गौरवका आयोजनाहरुलाई समयमै सम्पन्न गर्ने नितिगत समस्याहरुलाई सल्टाउनु पर्ने उनको भनाई छ । सोचेको र निर्धारित समयमा लक्ष्य प्राप्त गर्नेगरि काम गर्नुपर्ने उनले बताए ।

मन्त्री गौतमले आयोजनाबाट सुर्खेतका जनतालाई भेरी ववइ करिडोर र नयाँ प्रविधिबाट सिचाईलगायतका आयोजना संगसंगै लैजाने बताए । आयोजनाको मुख्य चुनौति १२ किलोमिटर सुरुङ खान्ने रहेको छ । सुरुको ६ किलोमिटर सुरुङ खानेपछि पावरहाउस र ढ्याम बनाउने योजना रहेको भेरी बबई डाइर्भसन बहुउदेश्यीय आयोजना सुर्खेतले जनाएको छ । आयोजनाको सुरुङ खन्ने काम जोखिम पुर्ण भएकाले अन्य कामलाई छोडेर सुरुङ खन्ने कामनै गरिरहेको अयोजना प्रमुख शिवकुमार बस्नेतले बताए । प्राविधिक समस्या नआए दैनिक १५÷२० मिटर सुरुङ खन्ने योजना रहेको अयोजना प्रमुख बस्नेतले बताए ।

भेरी बबई डाइर्भसन बहुउदेश्यीय आयोजनाको भौतिक पुर्वाधार निमार्णमा झण्डै दुई अर्व रुपैयाँ निमार्ण कम्पनीलाई भुक्तानी दिएको आयोजनाले जनाएको छ । आयोजनाको कुल लागत झण्डै दश अर्व भन्दा बढि खर्च हुने आयोजना प्रमुख बस्नेतले बताए । सुर्खेतको भेरीगंगा नगरपालिकास्थित चिप्लेमा १५ मिटर अग्लो बाँध बनाएर सुरुङमार्फत प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानी बबईमा खसाल्ने लक्ष्य छ । बबईमा खसालेको पानीबाट ४८ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । त्यस्तै, बाँके र बर्दियाको ५१ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ उपलब्ध गराइनेछ ।