नेपालका १७ अपराधी इन्टरपोल खोजीमा


 

नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत तिवारीविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो । प्रहरीले तिवारीलाई नेपाल झिकाउन गृह मन्त्रालय गुहार्‍यो । गृहले परराष्ट्र मन्त्रालयलाई कूटनीतिक पहलका लागि पत्रसमेत लेख्यो । तर, जापानी प्रहरीले दुई देशबीच अपराधी बुझाउने कुनै कानुन नभएको भन्दै तिवारीलाई एक सातापछि छाडिदियो । तिवारीलाई नेपाल ल्याउन सकिएको भए धेरै महिलाले न्याय पाउँथे । प्रहरी मुख्यालयका अनुसार तिवारीविरुद्ध धेरै महिलामाथि यौनजन्य दुव्र्यवहार गरेको आरोपसमेत छ ।

प्रहरीको ‘मोस्ट वान्टेड सूची’मा परेका, अदालतले समेत वारेन्ट जारी गरेका र इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी भएका इयान ब्रेकर एथेन्समा पक्राउ परे पनि उनलाई नेपाल ल्याउन सकिएन ।

अमेरिकी नागरिक ब्रेकर एथेन्स प्रहरीले सन् २०१७ जुनमा पक्राउ गरेको थियो । वन्यजन्तुका छालालगायत अखेटोपहारका तस्कर ब्रेकरलाई नेपाल पठाइदिन प्रहरीले इन्टरपोलमार्फत एजेन्स प्रहरीसँग समन्वय गर्‍यो । तर, प्रमाण अभाव भएको र नेपाल पठाउन कुनै कानुन नभएको भन्दै ब्रेकरलाई त्यहाँको अदालतले छाडिदियो ।

यी दुई घटनाका अभियुक्त पक्राउ परेको जानकारी पाउँदा पाउँदै पनि नेपालले स्वदेश ल्याउने मौका गुमायो । छिमेकी मुलुक भारत र चीनसँग आपसी समन्वयमा अभियुक्त ल्याउने र बुझाउने काम हुँदै आएको छ ।प्रहरी उच्च स्रोतका अनुसार केही साताअघि मात्रै नेपालले २० मिलियनभन्दा बढी युयान ठगी मुद्दाका चिनियाँ नागरिक किन पिङलाई चीन बुझाएको छ । अध्यागमनमार्फत डिपोट गरिएका पिङ नेपालमा पर्यटकका रूपमा घुम्दै आएका थिए ।

अहिले नेपालले मात्रै १५ जना स्वदेशी र दुई विदेशी गरी १७ जनाविरुद्ध रेड कर्नर नोटिस जारी छ । सन् २००७ देखि उनीहरू खोजीको सूचीमा छन् । त्यसैगरी, भारतको इन्टरपोलले २८, अमेरिकी इन्टरपोलले ५, मिन्स (बेलारुस) ले एक, अबुधावीले १५, कतारले ९, साउदी अरेबियाले ३, पोर्चुगलले एक, पोल्यान्डले एक र बहराइन इन्टरपोलले एक गरी ६६ जना नेपालीको खोजी गरिरहेका छन् ।

प्रहरीले अनुसन्धान गरिरहेकै बेला नाम खुलेका व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउन २२ जनाविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ । यिनीहरूमा नेपालीसँगै भारतीय, पाकिस्तानीसमेत छन्।

इन्टरपोल काठमाडौंले भदौ १६ गते मात्रै दुई जनाविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको आग्रहमा युवा संघ रुपन्देहीका पूर्वअध्यक्ष दुर्गाप्रसाद तिवारी हत्यामा अनुसन्धानका लागि तुलबहादुर सिञ्जाली र केन्द्रीय अनुसन्धान ब्युरोको आग्रहमा अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धानका लागि प्रकाश ओलीविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ । त्यसैगरी, हराएका वा सम्पर्कविहीन भएका व्यक्तिको खोजीका लागि १४ जनाविरुद्ध एलो नोटिस जारी छ ।

प्रहरी मुख्यालयले मलेसिया, साउदी अरब, दुबई, कतार र युनाइटेड अरब इमिरेट्समा प्रहरी सहचरी राख्ने योजना बनाई गृह मन्त्रालयमा स्वीकृतिका लागि फाइल पठाएको थियो । पूर्वआईजीपी उपेन्द्रकान्त अर्यालले गृहमा पठाएको फाइल अगाडि बढेको छैन ।

प्रहरी मुख्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज न्यौपाने भन्छन्, ‘नेपालमा अपराध गरेर फरार र अन्य मुलुकमा अपराध गरेर फरार अभियुक्तलाई पक्राउ गरेपछि सम्बन्धित मुलुकलाई हस्तान्तरण गर्न अहिलेसम्म इन्टरपोलको सहयोग लिँदै आएका छौं ।’
उनले तत्काललाई प्रहरी सहचरी राख्नुपर्‍यो भनेर गृहमा फाइल पठाइए पनि अगाडि नबढेको बताए ।
उनले भने, ‘वैदेशिक रोजगारमा ठगिएका र पीडामा परेका नेपालीको समस्या समाधानका लागि सहचरी चाहिएको हो ।’

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले प्रहरी सहचरी राख्ने विषयमा गृहमा छलफल भइरहेको जानकारी दिए । उनले भने, ‘अहिले इन्टरपोलको सहयोग लिन भनिएको छ, विस्तारै सहचरी पनि पठाइन्छ ।’

साभारः अन्नपूर्ण पोष्ट ।