पर्सा निकुञ्जमा बाघ गणना सुरु

१५ मंसिर, सिमरा । पर्सा वन्यजन्तु निकुञ्जमा राष्ट्रिय बाघ गणना २०१८ सुरु गरिएको छ ।
नेपालमा रहेका बाघको संख्यालाई सन् २०२२ सम्ममा दोबर पार्ने उद्वेश्यकासाथ संचालित अभियानलाई सफल पार्न पर्सा वन्यजन्तु निकुञ्जमा बाघ गणना सुरु गरीएको हो ।
वन तथा भू-संरक्षण मन्त्रालयका सचिव युवकध्वज जिसीले निकुन्जमा प्रयोग गरिने ‘ट्रयापिङ क्यामरा’ डेमोको अाैपचारिक उद्घाटन गर्दै बाघ र मानिसको सम्बन्ध बाबु छोराको जस्तो रहेको बताए ।
उनका अनुसार बाघ मानिसका लागि डरलाग्दो जनावर भएपनि यसको संरक्षणमा मानिस नै जुटिरहेको भन्दै जैविक बिविधता संरक्षण अभियानमा बाघ गणना २०१८ सुरु गरिएको हो ।
नेपाल सरकारले बाघ संरक्षणका लागि प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय बाघ संरक्षण समिति निर्माण गरी नेपालमा बाघ संरक्षणको अभियानमा विश्वमै नमूना अभ्यासका रुपमा काम गर्ने तयारी थालेसँगै देशका बाघ संरक्षित क्षेत्रमा बाघ गणना सुरु गरिएको हो ।
नेपाल सरकार (सचिवस्तर) ले २९ असोजदेखि बाघ गणना २०१८ संचालन गर्न केन्द्रीय स्तरमा राष्ट्रिय निकु्ञ्ज तथा वन्यजन्तु संरक्षणका महानिर्देशकको संयोजकत्वमा प्राबिधिक समिति गठन गरी बाघ संरक्षणको तयारी थालिएको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार गणनाका लागि सम्पूर्ण तयारी पूरा गरी पर्सा राष्ट्रि निकुन्जबाट गणना थालिएको हो ।
गणनामा यस पर्सा निकुञ्जमा ७ वटा हात्ती, केही तालिम प्राप्त प्राबिधिक र करिब १ सय ५० क्यामेरा प्रयोग गरिने छ ।
वन विभागका महानर्देशक कृष्णप्रसाद आचार्यका अनुसार बाघ गणनाको काममा विश्व वन्यजन्तु कोष, जेड एसएल, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाली सेना, निकुञ्ज अन्तर्गतका कर्मचारी, मध्यवर्ती क्षेत्रका संरक्षणकर्मी लगायतको सहभागिता रहने छ ।
नेपालमा बाघको संख्या बढ्दो
विश्वको १३ देशमा पाइने बाघका प्रजाती भारतपछि नेपालमा सबैभन्दा बढी छन् । नेपालमा पछिल्लो समय बाघको संख्यामा बृद्धी भएको समेत एक तथ्याँकले देखाएको छ ।
सन् १९९६/९७ मा नेपालमा बाघको संख्या ९५ वटा रहेको सरकारी तथ्याङ्कले देखाएको छ भने सन् २००९ मा यसको संख्या बढेर १२१ पुग्यो ।
पुनः २०१३ मा गरिएको पछिल्लो गणना अनुसार नेपालमा १९८ वटा वयस्क बाघ रहेको तथ्याङकमा छ ।
बाघ गणनाको नतिजाबाट दुर्लभ तथा लोपोन्मुख प्रजातीको बाघ संरक्षणको अवस्था थाहा पाई यसको समाधान र नेपालले अन्तराष्ट्रिय समुदाय समक्ष सन् २०१० मा रसियामा भएको बाघ सम्वन्धी अन्तराष्ट्रिय सम्मेलनमा प्रतिबद्धता गरे बमोजिम सन् २०२२ सम्म बाघको संख्या दोब्ब्ार -२५० बटा) पुर्याउने लक्ष्य पूरा गर्ने बताइएको छ ।
साभारः अनलाइनखबर



Prawash Kumar Shakya । १५ मंसिर २०७४, शुक्रबार ०५:४१ बजे