हिमालयको पहिलो व्यावसायिक उडान श्रीलंकामा, दुईतर्फी भाडा ३५ हजार


नविन अर्याल
चैत, काठमाडौं । निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चार्टर्ड फ्लाइटमार्फत व्यावसायिक उडान सुरु गर्ने भएको छ । हिमालयले यही ३० गते श्रीलंकाको कोलम्बोमा प्रमोशन चार्टर्ड फ्लाइट गर्न लागेको हो ।

हिमालयको एयरबस ३२०(२१४ विमान विहान ८ बजे काठमाडौंबाट कोलम्बो उड्नेछ । नयाँ वर्षको विदा मनाउने नेपाली यात्रुहरु बोकेर कोलम्बो जान लागेको कम्पनीले जनाएको छ । काठमाडौंबाट कोलम्बो पुग्न करिव तीन घण्टा लाग्ने बताइन्छ ।

नियमित उडानका लागि आवश्यक तयारी पुरा नभइसकेको हुँदा चार्टर्ड फ्लाइट गर्न लागेको कम्पनीको भनाई छ । ‘चार्टर्ड फ्लाइटलाई कुनै तयारी गर्नु परेन्, श्रीलंकाका लागि उडान प्रमिट छ, त्यहि भएर चार्टर्ड फ्लाइट गर्न लागेका हौं’ कम्पनीका एक कर्मचारीले बताए ।

कोलम्बोका लागि दुईतर्फी टिकटको प्रतिव्यक्ति ३५ हजार रुपैयाँ लिएको कम्पनीले बतायो । चैत ३० गते कोलम्बो गएको एयरबस वैशाख ४ गते नेपाली यात्रु नै बोकेर काठमाडौं आउने छ । कान्तिपुर होलीडेज लगायतका ट्राभल कम्पनीहरूले अहिले श्रीलंकाको प्याकेज बनाएर मार्केटिङ गरिरहेका छन् ।

नियमित व्यावसायिक उडानका लागि प्रकृया पुरा गर्न अझै केही दिन लाग्ने कम्पनीले बताएको छ । कम्पनीका अनुसार वैशाख महिनाभित्र नियमित उडान गर्नेगरी काम अगाडि बढिरहेको छ ।

हिमालयको पहिलो स्याडुल फ्लाइट कतारको दोहामा हुने सम्भवना रहेको बतायो । यसअघि कम्पनीले भारतको दिल्लीमा पहिलो उडान गरी सोही दिन दोहामा दोस्रो उडान गर्ने तालिका सार्वजनिक गरेको थियो ।

हिमालयले अहिले श्रीलंकका लागि नियमित उडान भर्ने योजना बनाइसकेको छैन् । भोलीका दिनमा श्रीलंकमा व्यावसायिक सम्भवना भएमा नियमित उडान गर्ने कम्पनीको योजना छ । धार्मीक तथा सांस्कृतिक कनेक्टिभिटी रहेको श्रीलंकाबाट नेपालमा वौद्धिष्ट पर्यटकहरु आउने गर्छन् ।

तिब्बत एयरलाइन्ससँग सहकार्य गरेर हिमालय एयरलाइन्सले नेपालबाट अन्तराष्ट्रिय उडान गर्न लागेको हो । हिमालय एयरलाइन्समा नेपालीको ५१ प्रतिशत र तिब्बत एयरलाइन्सको ४९ प्रतिशत शेयर हिस्सा रहेको छ ।

हिमालयले फागुन २६ गते पहिलो एयरबस ल्याएको हो । ९एन(एलएम रजिष्ट्रेसन नम्बर रहेको विमान चीनको चेन्दूबाट काठमाडौं ल्याइएको हो । कम्पनीले चीनको लिजिङ कम्पनीसँग १२ वर्षका लागि एयरबस भाडामा लिएको हो ।

विमानमा १५८ सिट क्षमता रहेका छन् । जसमध्ये ८ वटा विजनेस क्लास र बाँकी १५० वटा इकोनोमी क्लासका सिट रहेका छन् ।

दोस्रो विमानबाट चीन उडान

हिमालयले पहिलो उडान सुरु गरेको केही महिनापछि अर्को एयरबस ल्याएर सेवा विस्तार गर्ने योजना बनाएको छ । अर्को चरणमा १२८ सिट क्षमताको ए३१९ विमान ल्याएर चीनको चेङ्दू, ल्हासा र बेइजिङ उडान भर्ने कम्पनीले बतायो ।

कम्पनीले सन् २०१६ मा दुई जहाजबाट छिमेकी मुलुक चीन र भारतका पाँच गन्तव्यमा उडान भर्ने कार्ययोजना बनाएको छ । सन् २०१७ मा थप दुई एयरबस जहाज भित्र्याएर उडान विस्तार गर्ने योजना कम्पनीको छ ।

दुइवटा एयरबस थपेपछि कम्पनीले हङकङ, बैंकक, कोलम्बो, अहमदाबाद, मलेसीया, सिंगापुर लगायतका सम्भावित गन्तव्यहरुमा उडान गर्ने योजना छ । तिब्बत एयरलाइन्सको सहकार्य रहेको हुँदा हिमालयले काठमाडौं(ल्हासा उडानलाई नै प्राथमिकतामा राखेको छ ।

यती एयरलाइन्सले यसअघि सञ्चालनको तयारी गरिरहेको ‘फ्लाई यती’ को नाम परिवर्तन गरेर हिमालय एयरलाइन्स बनाएर साढे दुई अर्ब रुपैयाँ लगानीमा अन्तराष्ट्रिय उडान भर्ने तयारी गरिएको हो ।

साभारः अनलाईन खबर ।