सिपलाई व्यावसायीकरण गर्नुसः उपसभामुख घर्ती


१६ पौष, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा जारी १५ दिने नेवारी परिकार बनाउने तालिम समापन भएको छ ।

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ सुर्खेत समन्वय एवं सहकार्यमा शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशको आयोजनामा १५ दिने नेवारी परिकार बनाउने तालिमको कर्णाली प्रदेश सभाका उपसभामुख पुष्पा घर्तीले एक समारोहका वीच समापन गर्नुभएको हो ।

समापन कार्यक्रममा उपसभामुख घर्तीले सम्पूर्ण महिलाहरु आत्मनिर्भर बन्न जरुरी रहेको बताउँदै आफूले सिकेको सिपलाई व्यावसायीकरण गर्नुपर्ने औल्याउनुभयो ।

कार्यक्रममा शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशका निर्देशक दिपा हमालले जनजाति महिलाहरुको परम्परागत सीप कार्यक्रम अन्तगर्त नेवार समुदायको विभिन्न परिकारका रोटी तथा हातले खुटेको दुना टपरी बनाउने तालिमको आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “यो त सरकारले बाटो मात्र देखाएको हो अब यस्मा कसरी हिड्ने त्यो तपाइहामीमा नै भरपर्छ ।”

नेवा देय् दबु र नेवा मिया दबु जिल्ला कार्य समिति सहयोगमा १५ दिन सम्म संचालन गरिएको तालिमको प्रशिक्षक नेवा मिसा दबुका अध्यक्ष उर्मिला श्रेष्ठले नेवारी परिकारहरु सेल. फिनी, अनर्सा, योमरी, बारा(मासको दालको रोटी) , लाखमरी जस्ता विभिन्न परिकारबनाउन सिकाउनुभएको थियो । कार्यक्रमको सहजीकरण नेवा देय् दबु सुर्खेतका सचिव बालकृष्ण श्रेष्ठले गर्नुभएको थियो ।