समय आगावै भेरी–बबई बहुद्देश्यीय आयोजनाको सुरुङ पूरा


२२ चैत । राष्ट्रिय गौरवको भेरी–बबई बहुद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ पूरा भएको छ । आयोजनाको १२ हजार दुई सय मिटर सुरुङ खन्ने कार्य बिहीबार सम्पन्न भएको हो ।

सन् २०२० मार्चभित्र सुरुङको काम सम्पन्न गर्ने लक्ष्य रहेकोमा टनेल बोरिङ मेसिनका कारण त्यसको एक वर्षअघि नै सुरुङ निर्माण कार्य पूरा गरिएको भेरी–बबई बहुद्देश्यीय डाइभर्सन आयोजना प्रमुख सञ्जीव बरालले बताउनुभयो ।

सुरुङ खन्ने कार्य पूरा भए पनि त्यसको औपचारिकता भने नयाँ वर्षमा दिइने भएको छ । त्यसका लागि केही भाग खाली राखेर प्रधानमन्त्री केपी शर्मा ओलीबाट सुरुङ छिचोलिने उहाँले जानकारी दिनुभयो । उहाँले निर्धारित समयभन्दा एक वर्ष पहिले नै सुरुङ निर्माण कार्य पूरा गर्नु आफैमा ठूलो उपलब्धि भएको जनाउँदै यो आयोजनाको सुरुङ निर्माण कार्यले निर्धारित समयभन्दा पनि पहिले काम पूरा गर्न सकिने सन्देश दिएको जनाउनुभयो ।

एक वर्षअघि नै सुरुङ पूरा गरिएपछि आयोजनाका स्वदेशी विदेशी प्राविधिकदेखि अन्य कर्मचारी र कामदारसमेत अत्यन्तै उत्साहित भएको प्रमुख बरालले बताउनुभयो ।

सुरुङ पूरा भएपछि आयोजनाका अन्य कार्यहरूमा पनि तीव्रता दिइने बताउनुभयो । ‘सुरुङ निर्माण कार्य आज बिहान पूरा भएको छ, अब सुरुङको भित्री भागको फिनिसिङका काम गरिने छन्, त्यसमा करिब ३ महिनाजति लाग्नेछ, त्यसका साथ साथै अन्य विभिन्न काम पनि अगाडि बढ्नेछन्’, आयोजना प्रमुख बरालले भन्नुभयो । (गोरखापत्रबाट)