देउती बज्यैमा जारी महायज्ञ आज समापन


१५ बैशाख, सुर्खेत । बैशाख ७ गतेदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतको देउती बज्यैमा देउती बज्यै पूर्वाधार समितिको आयोजनामा संचालन भएको महायज्ञ आज समापन भएको छ ।

समापन समारोहमा कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री यामलाल कंडेलले धार्मिक पर्यटन विकासका लागि देउती बज्यैको पूर्वाधार विकास गर्न जरुरी थियो जुन कार्यको शुरु भएको छ गुरुयोजना अनुसार काम गरेमा कुनै पनि संरचनाहरु बनाउँदै र भत्काउँदै गर्नु नपर्ने भएकोले गुरुयोजना अनुसार नै अघि बढ्न कँडेलले सुझाव दिँदै प्रदेश सरकारले देउती बज्जैको पूर्वाधार विकास गर्नमा सहयोग गर्ने बताउनुभएको छ ।

महायज्ञ समापनका अवसरमा मोटामोटी आय–व्यय समेत प्रस्तुत गरिएको छ । पूर्वाधार विकास समितिका कोषाध्यक्ष सुरज आचार्यले ६३ लाख ६३ हजार ३ सय २१ रुपैयाँ प्रतिवद्धता र २० लाख संकलन भएको दानसहितको आय–व्यय प्रस्तुत गर्नुभएको थिए । समितिका सचिव रमेश सापकोटाले समितिले अहिलेसम्मको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

समापन कार्यक्रममा दान दिने दाताहरुलाई सम्मान गरिएको थियो ।

समापनमा कमल खड्काले आफ्नी स्व. आमा भुवनसरा खड्का र दाइ दीपक खड्काको सम्झनामा १ लाख ५१ हजार १ सय ११ दान गर्नुभएको थियो । कार्यक्रमका सभापति एवम् पूर्वाधार विकास समितिका संयोजक मुकुन्दश्याम गिरीले महायज्ञ समापन गरेका थिए ।

देउतीखबरबाट