नयाँ भाइरस यूरोप, जापान र क्यानाडामा समेत फैलिएको पुष्टि


१३ पौष, काठमाण्डौं । बेलायतमा पहिलोपटक पहिचान गरिएको कोभिड–१९ को नयाँ प्रकारको भाइरस यूरोपेली राष्ट्रसहित जापान, क्यानाडामा समेत पुष्टि भएको छ । बेलायतबाट फर्केर स्पेन, स्वीटजरल्याण्ड, स्वीडेन, फ्रान्स र लेबनान पुगेका ब्यक्तिमा समेत भाइरस सङ्क्रमणको पुष्टि भएको हो ।
क्यानाडाको ओन्टेरियोमा पुष्टि भएका दम्पत्तीको कुनै यात्रा वृत्तान्त वा सम्पर्क नरहेको अधिकारीहरुले बताएका छन् । जापानमा सोमबारबाट लागू हुने गरी गैर आवासीय विदेशीहरुलाई एक महिनासम्म प्रवेशमा प्रतिबन्ध लगाइएको छ । बेलायतबाट फर्केका पाँच जनामा सङ्क्रमणको पुष्टि भए यता थप दुई जना सङ्क्रमित भएका छन् । दुबैजनाको कुनै यात्रा वृत्तान्त छैन् ।
यूरोपेली यूनियनले फाइजर एनबायोटेकको खोप लगाउन स्वीकृति प्रदान गरेसँगै यूरोपेली राष्ट्रहरुमा खोप अभियान सञ्चालन गरिएको छ । उत्तर पूर्बी जर्मनीका स्वास्थ्य अधिकारीहरुले नयाँ अनुमति दिएको फाइजरको खोप वितरण गर्न र लगाउन अझै ढिलाइ गर्न नहुने बताएका छन् । हल्बरस्टाटको नर्सिङ्ग होममा भर्ना भएका वृद्ध ब्यक्तिहरुमा उक्त खोप लगाइएको छ ।
हगेंरीमा डेल पेस्ट केन्द्रीय अस्पतालका एक चिकित्सकमा खोप लगाएर अभियानको सुरुवात गरिएको छ । स्लोभाकियाका अधिकारीहरुले समेत खोप लगाउन सुरु गरिएको बताएका छन् । यूरोपेली कमीशनका प्रमुख उर्सुला भोन डर लियोनले खोप वितरणको तस्विर साझा गर्नुहुँदै ट्वीटरमा वक्तब्य जारी गरी “एकताको स्पर्श क्षण” उल्लेख गर्नुभएको छ ।
वैज्ञानिकहरुले कोरोनाभाइरसको नयाँ प्रकार बेलायतमा फेला पर्नुलाई निगरानी पद्धतीको सुदृढ अवस्था इकिंत गरेको प्रतिक्रिया दिएका छन् । नयाँ भाइरस अझै बढी सङ्क्रामक रहेपनि सङ्क्रमित ब्यक्तिहरुमा त्यत्ति बढी जोखिम ननिम्तिने विज्ञहरुले बताएका छन् ।
स्पेनको मड्रिडमा चारजनामा नयाँ भाइरसको सङ्क्रमणको पुष्टि भएको छ । बेलायतबाट आएका चारैजना भने गम्भिर बिरामी नभएको अधिकारीहरुले बताएका छन् ।
स्वीटजरल्याण्डमा तीन जनामा सङ्क्रमणको पुष्टि भएको छ । दुई जना बेलायतका नागरिक छन् । क्रिसमस पूर्ब बेलायतबाट आउनेलाई अनुमति प्रदान गर्ने स्वीटजरल्याण्ड एकल यूरोपेली राष्ट्र हो । हजारौंका संख्यामा बेलायतबाट विदा मनाउन स्वीटजरल्याण्ड पुग्नेहरु छन् ।
स्वीडेनको स्वास्थ्य नियामक निकायले बेलायतबाट फर्केका एक जनामा सङ्क्रमणको पुष्टि भएपछि सुरुमा बिरामी देखिएपनि हाल सेल्फ आइसोलेशनमा रहेको जनाएको छ ।
फ्रान्सको टौर्स शहरमा एकजना फ्रान्सेली नागरिकमा नयाँ कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ । उहाँ डिसेम्बर १९ मा लण्डनबाट फ्रान्स फर्किनुभएको थियो ।
यसअघि नयाँ कोरोनाभाइरसका बिरामी डेनमार्क, जर्मनी, इटाली, द् नेदरल्याण्ड्स र अष्ट्रेलियामा समेत पुष्टि भइसकेको छ । नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित सबैभन्दा पहिला सेप्टेम्बर महिनामा दक्षिणी इंग्ल्याण्डमा पुष्टि भएको थियो । पछिल्ला दिनहरुमा लण्डनसहित दक्षिण पूर्बी र पूर्बी इंग्ल्याण्डमा सङ्क्रमित हुनेको दुई तिहाइ नयाँ भाइरसका बिरामी छन् ।
नयाँ कोरोनाभाइरसले भाइरसको अन्य संस्करणलाई विस्थापित गर्दैछ । भाइरसले म्युटेशन गर्छ । भाइरसको उक्त प्रभाब महत्वपूर्ण रहेको विज्ञहरु बताउँछन् ।
केही म्युटेशनबाट भाइरसले कोषलाई असर गर्ने क्षमता राखेको प्रयोगशालाबाट पुष्टि भएको छ । जसले गर्दा नयाँ संस्करणको कोरोनाभाइरस पहिलाको भन्दा बढी सङ्क्रामक हुने स्वास्थ्य विद्हरुले बताएका छन् । यद्दपी पछिल्ला महिनाहरुमा विकास गरिएको खोपले उक्त भाइरस विरुद्ध समेत काम गर्ने विज्ञहरुको दाबी छ । (गोरखापत्रअनलाइनबाट)