सुशासन र नगरको सफाईः मेयर राणाको पहिलो काम


Cw-XqxEVEAAGOWm

२० असार नेपालगन्ज । नेपालगन्ज उप-महानगरपालिकाले २० वर्षपछि जनप्रतिनिधिको रुपमा पुरानै मेयर डा. धवल शम्शेर राणालाई पाएको छ ।

मेयरमा निर्वाचित भएपछि अनलाईनखबरसंग कुरा गर्दै नवनिर्वाचित मेयर डा. राणाले उपमहानगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउँदै सुशान र पारदर्शितालाई प्रमुख मार्गदर्शनको रुपमा लिदै नगरको चौतर्फि विकासमा अघि बढ्ने बताए । ‘मैले पदभार गर्ने वित्तिकै पहिलो त कार्यालय भित्र सुशासन र पारदर्शिता कायम गर्ने छु,’ उनले भने-‘दोस्रो नगरलाई सफा राख्नको लागि हदैसम्मको काम गर्ने छ ।’

राणाले नेपालगन्ज उपमहानगरको लागि आफ्नो पार्टीको संसद विकास कोषबाट २ टेक्टर र फोहर संकलन गर्नको लागि आवश्यक ठेला खरिद गर्ने प्रक्रिया अघि वढाएको समेत बताए ।

उनले नगरलाई ५ वर्षभित्र चौतर्फी विकास गर्नको लागि सबैको सहयोग लिएर अघि बढ्ने बताउदै भने-‘चुनावमा जाँदा एजेण्डा पार्टीको लिएर गएपनि मेयरमा निर्वाचित भैसकेपछि अवको एजेण्डा पार्टीको हुँदैन, अव स्थानीय समस्या र विकास नै प्रमुख एजेण्डा बन्ने छ । म सबैको साथ लिएर त्यसैमा लाग्ने छु ।’

डा. राणाले सबै धर्म र संप्रदायलाई आफूले उत्तिकै सम्मान र आस्था राख्ने भएको बताउँदै धर्म, वर्ण र सम्प्रदायको आधारमा कसैलाई पनि कुनै विभेद नगर्ने स्पष्ट पारे ।

२० वर्षअघि आफू मेयर हुँदा बनाईएका पूर्वाधार बाहेक कुनै पूर्वाधार थप नभएकोले अव थप पूर्वाधार तयार गर्नुको साथै पुराना पूर्वाधारको संरक्षण गर्ने मर्मतसंभार गरिने योजना सुनाए ।

नेपालगन्ज पुरानो र ऐतिहासिक शहर भएकोले पनि व्यवस्थित बसोबासको लागि बैज्ञानिक बस्ती विकासको काम गर्ने गरी आफूले घोषणा पत्रमा समेत उल्लेख गरेको स्पष्ट पारे ।

मेयर राणाले वर्षातको समयमा विकास निर्माणको काम भन्दापनि पहिला नगरमा रहेका डुवान समस्यालाई समाधान गर्ने र वर्षात सकिएसंगै नगरको बिकासलाई तीब्र गतिमा लैजाने बताए । उनले ५ वर्षमा सबैको साथ र सहयोग रहे नेपालगन्जको विकासले मुहार नै फेरिने गरी काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

साभारः अनलाइनखबर