‘पाँच वर्षभित्र समृद्ध प्रदेश’


२९ मंसिर । सुर्खेत : सुर्खेतबाट निर्वाचित सांसदहरूले आफ्नो कार्यकालमा जनताले प्रत्यक्ष अनुभूति गर्नेगरी काम गर्ने प्रतिबद्धता जनाएका छन्। जनताले दिएको जिम्मेवारी पूरा गर्ने भन्दै उनीहरूले अब यो प्रदेशको समृद्धि आफूहरूको काँधमा आएको बताएका हुन्। प्रदेश ६ को समृद्धिका लागि आफूहरूले कुनै कसर बाँकी नराख्ने बताए। एमालेबाट विजयी प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सांसद धुव्रकुमार शाहीले प्राकृतिक स्रोतमा प्रदेश ६ धनी भएकाले यसको सदुपयोग गरिने बताए।

भौगोलिक विकटताका कारण यो प्रदेशका जिल्लाहरूमा विकासका कार्य अपेक्षित रूपमा हुन नसकेको भन्दै उनले अबको पाँच वर्षभित्र समग्र प्रदेशलाई नै समृद्ध बनाइने दाबी गरे। ‘यो प्रदेश देशकै नमुना र विकसित हुनेछ, त्यसका लागि अबका पाँच वर्ष कुरौं’, उनी भन्छन्, ‘हामी काम गरेर देखाउनेछौं, जनताको मतलाई सम्मान गर्न हामी प्रतिबद्ध छौं।’ जलस्रोतको उचित प्रयोग गरेर विद्युत् उत्पादन गर्न पहल गर्ने र समग्र प्रदेशका बस्तीहरूलाई अन्धकारबाट मुक्त पार्ने शाहीले जिकिर गरे।

उनले आफ्नो कार्यकालमा जिल्लाका जनताले विकासको अनुभूति गर्ने दाबीसमेत गरेका छन्। यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सांसद नवराज रावत कर्णालीले पनि अब विकास देख्ने बताउँछन्। देशको विकास गर्ने जिम्मेवारी मतदाताले वामपन्थीलाई सुम्पेको भन्दै अब प्रदेश ६ का सबै जिल्लामा देखिनेगरी विकास गर्ने उनले प्रतिबद्धता जनाए। ‘अहिलेसम्म सडक नपुगेका धेरै जिल्ला छन्, अधिकांश बस्ती अन्धकारमा छन्’, उनले भने, ‘अब सडक सञ्जालले जोड्ने मात्रै होइन, युग सुहाउँदो प्रविधिको समेत विकास गरिनेछ।’ जनताले वर्षौपछि विकास गर्ने जिम्मेवारी वामपन्थीलाई दिएको भन्दै उनले मत दिएवापत पछुताउनुपर्ने अवस्था आउन नदिने बाचा गरे।

क्षेत्र नम्बर १ प्रदेशसभा ‘क’ बाट विजयी सांसद ठम्मरबहादुर विष्टले दशबर्से ‘जनयुद्ध’ र जनआन्दोलनको प्रतिफल जनताले अबको पाँच वर्षमा पाउने बताए। विकास र समृद्धिका लागि माओवादीले गरेका विभिन्न आन्दोलनको स्मरण गर्दै उनले क्रान्तिबाट नै विकासको सुरुवात हुने पनि बताए। सुर्खेतका जनताको आवश्यकतालाई प्राथमिकता दिँदै विकासका निर्माणका गतिविधि अघि बढाइने उनले प्रतिबद्धता जनाएका छन्। ओझेलमा परेका सम्पदाहरूको पहिचान गरी प्रमुख आम्दानीको स्रोतका रूपमा सदुपयोग गरिने उनको भनाइ छ।

क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’ बाट विजयी सांसद यामलाल कँडेल प्रदेश ६ को राजधानी सुर्खेतमा बनाउने र विकासको नेतृत्व पनि अब सुर्खेतले नै गर्ने बताउँछन्। अबको पाँच वर्षसम्म जनतालाई निरास नहुने गरी काम गर्ने उनले प्रतिबद्धता जनाए। ‘सुर्खेतवासीले निरास हुनुपर्ने छैन, यो प्रदेशलाई नै समृद्ध बनाउने योजना हामीसँग छन्’, उनले भने, ‘यो प्रदेशले अबको पाँच वर्षभित्र विकासमा फड्को मार्नेछ, सबैले त्यो अनुभूति गर्नेछन्। मतदाताले जिम्मेवारी दिनुभएको छ, हामी त्यो कुनै पनि हालतमा पूरा गर्नेछौं।’ अबको पाँच वर्षभित्र प्रदेश ६ को सुकुम्बासी समस्या समाधान हुने उनले दाबी गरे।

यस्तै विपक्षी पार्टीहरूसँग सहकार्य र समन्वय गरेरै अघि बढ्ने भन्दै कँडेलले प्रदेशको गरिबी र बेरोजगारीविरुद्ध काम गर्ने प्रतिबद्धता जनाए। त्यसैगरी क्षेत्र नम्बर १ ‘ख’ का सांसद खड्कबहादुर खत्री र २ ‘ख’ का सांसद विन्दमाव विष्टले पनि जनताले विकासको अनुभूति गर्नेगरी प्रदेश समृद्ध बनाउने प्रतिबद्धता जनाएका छन्। आफूहरूको कार्यकालमा यो प्रदेश देशकै नमुना बन्ने र त्यो आफूहरूको अठोट नै भएको सांसदहरू बताउँछन्।

साभारः अन्नपूर्णपोष्ट अनलाइन