
२ जेठ काठमाडौं: सत्ताको नेतृत्व गरिरहेको दल एमालेभित्र भारतविरोधी जनमत बढ्न थालेको छ । विशेषगरी कार्यकर्ता तहमा यस्तो ‘सेन्टिमेन्ट’ बढेको पाइएको छ । एमालेका दोस्रो तहका नेता युवा तथा विद्यार्थीमा भारतको चर्को विरोध गर्ने प्रवृत्ति केही समययता औपचारिक कार्यक्रममा देखापरेको हो ।
युवा तथा विद्यार्थी र दोस्रो तहका नेता भारतविरुद्ध अभिव्यक्ति दिन थालेका छन् । शीर्ष तहका नेतालाई प्रमुख अतिथि र अतिथि बनाएर आयोजना गरिने त्यस्ता औपचारिक कार्यक्रममा नेताले न त्यसलाई रोक्ने गरेका छन्, न त सार्वजनिक समर्थन । शीर्ष तहका नेतासमेत भारतको नाम नलिई विरोध भने गर्छन् ।
भारतले लगाएको नाकाबन्दी र पछिल्लो समयमा केपी ओली नेतृत्वको सरकार परिवर्तनको सन्दर्भलाई आधार मानेर शीर्ष नेताहरू भारतको विरोधमा देखिन्छन् । एमालेका कुनै पनि जनवर्गीय संगठन र तहका कार्यक्रममा भारतको विरोध हुँदा सहभागीले पररर ताली पिट्ने गरेका छन् । एमालेका एक नेता यसलाई पार्टीको ‘बडी ल्याङवेज’ का रूपमा व्याख्या गर्छन् ।
युवा संघ नेपालले शनिबार मनाएको २६ औं स्थापना दिवसमा समेत भारतविरोधी ‘सेन्टिमेन्ट’ दखियो । भारतको विरोधमा बोल्दा हलमा जोडले ताली बजेको सुनिन्थ्यो । कार्यक्रममा प्रधानमन्त्री ओली प्रमुख अतिथि थिए भने उपप्रधान तथा रक्षामन्त्री भीम रावल, सूचना तथा सञ्चारमन्त्री शेरधन राईलगायत पार्टीका नेता सहभागी थिए । प्रधानमन्त्री ओली युवा संघ नेपालका संस्थापक अध्यक्ष हुन् भने यो संगठनका उनी आजीवन सदस्यसमेत हुन् ।
कार्यक्रम सञ्चालन गरिरहेका संघका महासचिव किरण पौडेलले कांग्रेसलाई समेत भारतसँग जोडे । ‘हुनत हाम्रो देशमा एउटा कांग्रेस छ, त्यो नेपालको हो कि भारतको हो’, उनले प्रश्न गरे । सहभागीले उनको समर्थनमा जोडले ताली बजाए ।
कार्यक्रमको अध्यक्षता गरेका संघका अध्यक्ष राजीव पहारीले संयुक्त मधेसी मोर्चाको आन्दोलन अब लैनचौरतिर सरेको संकेत गरे । लैनचौर नेपालस्थित भारतीय दूतावास रहेको ठाउँ हो । ‘अहिले मधेस आन्दोलन सरेर लैनचौर पुगेको छ । तपाईंहरू धर्ना बस्नुस् । तिर्खा लागे हामी पानी ख्वाउँला तर संविधानविपरीत र संविधान कार्यान्वयन हुन नदिने काम हामी गर्न दिनेछैनौं’, पहारीले भने । उनले तराईमा एमालेका पार्टी कार्यालय तोडफोड हुँदा, नेतामाथि आक्रमण हुँदा बुद्ध बनेर बस्न निर्देशन नदिन मञ्चमा रहेका प्रधानमन्त्रीलगायत नेतालाई आग्रह गरे ।
कार्यक्रमका धेरै वक्ताले नेपालमा विभिन्न समयमा भारतीय हस्तक्षेप भएको भन्दै विरोध र चीनसँग भएको सहमतिको स्वागत गरेका थिए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले मधेस आन्दोलनतर्फ लक्षित गर्दै त्यसलाई भारतले उचालेको संकेत गरे । ‘नेपाली जनताले बुझेका छन्, मधेसको आन्दोलन कसले किन र केका लागि उचालेको हो ? आन्दोलनलाई कसले उफार्छ, कसले थेचार्छ, कसले हावा भरेको छ’, ओलीले भने । प्रधानमन्त्रीले मधेस आन्दोलनलाई रूखको छायासँग तुलना गरे ।
‘जसरी रूखको छाया सरेपछि मान्छे पनि त्यर्तै सर्छ त्यसैगरी यो आन्दोलन पनि छाया खोज्दै सरेको छ । यो जनताको सरकार हो । जनताका जायज माग पूरा गर्न कतै जानु पर्दैन । आन्दोलन पनि गर्नु पर्दैन । जायज माग सरकारले वार्ता गर्नेबित्तिकै पूरा गर्छ तर वार्तामा नबस्ने अनि सरकारले बेवास्ता गर्यो भन्ने ? ‘ उनले भने ।
प्रधानमन्त्री ओलीले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउँदा भएको विरोधप्रति पनि असन्तुष्टि प्रकट गरे । ‘खास परिस्थितिमा नेपालले आफ्ना राजदूतलाई फिर्ता बोलायो । त्यसलाई समातेर केही मानिसले भारतको विरोधमा भनेर भड्काउन खोजे’, प्रधानमन्त्रीले भने । उनले त्यो परिस्थिति के हो भन्नेचाहिँ खुलाएनन् । प्रधानमन्त्रीले यसअघि नेपाल आउन ४५ दिन लाग्ने सामान चिनियाँ रेल भएर १० दिनमा आइपुगेको बताए ।
साभारः अन्नपूर्णपोष्ट
Prawash Kumar Shakya । २ जेष्ठ २०७३, आईतवार ०१:३४ बजे