कर्णालीका पत्रकारको निःशुल्क परामर्शदातामा डाक्टर के.सी. र डाक्टर न्यौपाने


८ जेठ, सुर्खेत । प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डाक्टर नवराज केसी र जनरल फिजिसियन डाक्टर प्रदिप न्यौपानेले कोरोना भाइरसबाट संक्रमित पत्रकारका लागि निःशुल्क परामर्श सेवा दिने भएका छन् ।

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र डाक्टरद्वय बीच कर्णाली प्रदेशका १० वटै जिल्लाका संक्रमित पत्रकार र उनका परिवारलाई निःशुल्क परामर्श सेवा दिने गरि शुक्रबार सम्झौता भएको छ । कोरोना भाइरसबाट दिनप्रतिदिन पत्रकारहरु संक्रमित हुनथालेपछि संक्रमित पत्रकार र उनीहरुको परिवारको उपचारमा सहयोग पुर्याउने उद्देश्यले महासंघ कर्णाली प्रदेशको पहलमा सम्झौता गरिएको हो ।

डाक्टर केसी र न्यौपानेले कोरोना भाइरसको प्रभाव रहुन्जेल पत्रकार र उनीहरुका परिवारको स्वास्थ्य अवश्था,उपचार र कोरोनाबाट बच्न अपनाउनुपर्ने साबधानी, आइशोलेसनमा बस्दा ध्यानदिनुपर्ने कुराहरुको बारेमा निःशुल्क परामर्श दिने गरि सम्झौता गरिएको महासंघका अध्यक्ष देवीराम देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमित पत्रकार र उनीहरुको परिवारले डाक्टर केसी र न्यौपानेलाई फोन गरि आफूलाई देखिएको समस्याकाबारे जानकारी गराउनुपर्नेछ ।

डाक्टरद्वयलाई प्रत्यक्ष भेट गर्नुपरेमा सुर्खेतको जुम्ला रोडमा रहेको कर्णाली केयर हस्पीटलमा भेट्न सकिने छ । महासंघको तर्फबाट कोषाध्यक्ष गणेशकञ्चन भारतीले समन्वय गर्नुहुने भएकोछ । डाक्टर केसी र न्यौपानेले गतबर्ष पनि कोरोना भाइरस संक्रमितको उपचारमा विशेष भूमिका निर्बाह गर्नुभएको थियो ।