१८ बुँदे घोषण पत्र जारी गर्दै महासंघको बैठक सम्पन्न


आगामि बैसाख २२ गते निर्वाचन हुने
फागुन २३, सुर्खेत ।

नेपाल पत्रकार महासंघको जनकपुरमा सम्पन्न केन्द्रिय कार्यसमितिको बैठक १८ बुँदे जनकपुरधाम घोषणापत्र जारी सम्पन्न भएको छ । सम्पन्न तेस्रो पूर्ण बैठकले २०७५ वैशाख २२ गते सबै प्रदेशमा महासंघको प्रादेशिक निर्वाचन गराउने निर्णय गरेको छ ।

सदस्यता शुद्धीकरणको अभियानलाई प्रभावकारी रूपमा अघि बढाउदै पत्रकारको पेशागत सुरक्षा, सम्पादकीय स्वतन्त्रता तथा आचारसंहिताको पालनामा प्रतिबद्धता पनि बैठकले गरेको छ ।

श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनमा सरकार गम्भीर नभएको आरोप लगाउदै कार्यान्वयनका लागि सशक्त आन्दोलनका कार्यक्रमसहित चार महिने कार्ययोजना तय गरेको छ । सम्पन्न बैठकले महासंघको सुझाव, न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसबमोजिम न्यूनतम् पारिश्रमिक निर्धारण गर्न सरकारसँग माग गरेको जारी घोषणापत्रमा उल्लेख गरिएको छ ।

बैठकले स्वास्थ्य बीमा थप योजना, प्रेस स्वतन्त्रता सेनानी तथा ज्येष्ठ पत्रकारको सम्मानका लागि सरकारसमक्ष कार्ययोजना प्रस्तुत गर्ने, केन्द्र तथा सबै प्रदेशमा प्रतिष्ठान स्थापनाको प्रक्रिया अगाडि बढाउने, आफैँ श्रमजीवी आफैँ सञ्चालक रहेका साना लगानीका सञ्चार माध्यमलाई बचाउन समानुपातिक विज्ञापन वितरण, सञ्चार सामग्रीमा कर छुट, वृत्ति विकास तथा तालीम सञ्चालनका लागि साना लगानी मिडिया कोष स्थापना गर्न सरकारसँग जोडदार माग गर्ने लगायतका निर्णय सार्बजनिक गरेको छ ।