
१७ साउन, सुर्खेत । विषालु च्याउको तरकारी खाँदा विरामी भएर कर्णाली प्रदेश अस्पतालमा उपचार गराइरहेका जाजरकोट कुशे गाउँपालिका–१ स्याक्रीका चलाउने परिवारलाई लायन्स क्लव अफ वीरेन्द्रनगर सुर्खेतले आर्थिक सहयोग गरेको छ ।
क्लबले कुशे गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र बस्नेतको रोहवरमा शनिबार अस्पतालमै पुगेर १२ हजार रुपैयाँ सहयोग गरेको हो ।
गत साउन ९ गते जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा टेकबहादुर चलाउने सहित परिवारका आठ जना बिरामी पर्नुभएको थियो । च्याउ खाएकै कारणले टेकबहादुरका २१ वर्षीय छोरा ललित, १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा, ११ वर्षीया नातिनी निरुता र तीन वर्षीया नातिनी अञ्जनाको मृत्यु भएको छ ।
अञ्जनाको सोमबार, औसरा, धनसरा र निरुताको मंगलबार तथा ललितको बिहीबार उपचारको क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको थियो । टेकबहादुर चलाउने, उहाँकी ३० वर्षीया बुहारी कल्पना र छोरी पशुपति चलाउनेको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।
‘विषालु च्याउ खाएर एकै परिवारका पाँच जनाको मृत्यु भएको र तीन जना उपचाररत रहेको जानकारी पाएपछि आर्थिक सहयोग गरेका हौं,’ अध्यक्ष लक्ष्मी शाहीले भन्नुभयो, ‘आर्थिक अभावमा उपचारमा समस्या भइराखेकाले थप सहयोगका लागि पनि पहल गछौं ।’
रकम हस्तान्तरण गर्दै क्लबका डिष्ट्रिक कोडिनेटर टिकाराम चपाईले सुर्खेत–दैलेख एरियाका लायन्स क्लवबाट थप सहयोगका लागि पहल गर्ने बताउनुभयो । ‘परिवारका आठ मध्ये पाँच जनाको मृत्यु भइसकेको छ, तीन जना अझै जीवनमरणको अवस्थामा हुनुहुन्छ,’ चपाईले भन्नुभयो, ‘उहाँहरुलाई थप सहयोगको आवश्यकता भएकाले कर्णाली एरियाका सबै लायन्स क्लव मार्फत आर्थिक सहयोग संकलन गरेर उपचारमा सघाउने अभियानमा जुटेका छौं ।’



Prawash Kumar Shakya । १७ श्रावण २०७७, शनिबार २०:२९ बजे