हरिकृष्ण कुमाई, जुम्ला
पौष २६
कर्णाली अञ्चलको हिमाली जिल्ला जुम्लामा अत्याधिक चिसो बढेपछि जनजिवन प्रभावित बन्दै गएको छ । खलंगा बजार लगाएत उच्च हिमाली क्षेत्रको तापक्रम माइनस ८ डिग्री सेल्सियस पुगे संगै बोतलमा राखेको डिजल समेत जम्न थालेको छ ।
चिसो बढ्दै गएपछि श्वासप्रश्वासमा समस्या हुने, रुघाखोकी लाग्ने, अक्सिनजनको कमी हुने, दम बढ्ने जस्ता समस्या देखिने र घरयासी कामकाज गर्न समेत हुन थालपछि स्थानीयको जनजिवन कष्टकर बनेको हो ।
चिसोका कारण खानेपानीको पाईप फुटेर धारामा पानी बन्द हुने गरेको छ भने बाटोमा समेत बरफ जम्ने गरेको छ । बजार क्षेत्रका मानिसहरू समूहसमूहमा आगो तापेर बस्ने गरेका छन् ।
त्यसैगरि विहानको जाडोले कारणले तरकारीलाई तुसारोले नष्ट गरेको छ । अत्याधिक चिसोले गर्दा आगो नतापे सम्म बस्न नै सकिदैन, स्थानिय राज्यलक्ष्मि महत सेजुवालले बताइन ।
चिसो बढ्दै गएपछि जुम्लामा चल्ने सवारीसाधनलाई समेत असर गरेको छ । चिसोले गर्दा गाडीमा राखिएको डिजल समेत जमेकोले बिहान गाडी चलाउनुअघि १० देखि १५ मिनेटसम्म गाडीको ट्याङ्की तल आगो बाल्नुपर्ने बाध्यता रहेको चालक मनिश केसी बताए ।
जुम्लामा चिसो जाडो बढे संगै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि विरामीहरुको पनि चाप बढेको छ । खोकी, निमुनिया, दमका रोगीहरु आउने गरेको प्रतिष्ठानका मेडिकल डाईरेक्टर पुजनकुमार रोकायाले जानकारी दिए ।



Prawash Kumar Shakya । २६ पुष २०७४, बुधबार १३:४४ बजे