लोपोन्मुख तथा सिमान्तकृत समुदायकालागि सरकारले विशेष कार्यक्रम संचालन गर्नेः मुख्यमन्त्री शाही


१९ वैशाख,सुर्खेत।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले लोपोन्मुख तथा सीमान्तकृत समुदायका लागि प्रदेश सरकारले विशेष कार्यक्रम संचालन गर्ने प्रतिवद्धता गर्नुभएको छ । वुधवार प्रदेश मुख्यालयमा लोपोन्मुख तथा सीमान्तकृत समाज उत्थान, नेपाल कर्णाली प्रदेशको प्रतिनिधिमण्डलसंग भेटवार्तामा मुख्यमन्त्री शाहीले लोपोन्मुख तथा सीमान्तकृत समुदायका आयआर्जन र रोजगारीका लागि प्रदेश सरकारले विशेष व्यवस्था गर्ने वताउनुभएको हो ।

प्रदेश सरकारको सम्पुर्ण ध्यान कर्णालीको विकास र समृद्धिमा रहेको वताउदै मुख्यमन्त्री शाहीले प्रदेशको समग्र समृद्धिको योजनामा लोपोन्मुख तथा सीमान्तकृत समुदाय उच्च प्राथमिकतामा रहने वताउनुभयो । मुख्यमन्त्री शाहीले लोपोन्मुख तथा सीमान्तकृत समुदायमा पर्ने राजी समुदायको आयआर्जनका लागि होमस्टे संचालन गर्न प्रदेश सरकारले चालु आवमै १० वटा परम्परागत घर निर्माणका लागि अनुदानको व्यवस्था गर्ने वताउनुभयो । परम्परागत संस्कृति झल्कने गरि होमस्टे संचालनको तयारी गर्न समेत मुख्यमन्त्री शाहीले लोपोन्मुख तथा सीमान्तकृत समाज उत्थानको प्रतिनिधिमण्डललाई आग्रह गर्नुभयो ।

मुख्यमन्त्री शाहीले सरकारले सहकारी, तथा समुहहरुसंग सहकार्य गरेर काम गर्ने नीति लिएको जानकारी दिदै लोपोन्मुख तथा सीमान्तकृत समुदायको सहकारी संचालन गर्न आग्रह गर्नुभयो । सहकारी सम्वन्धि प्रदेश कानुन वन्न लागेको र सो कानुनमा सहकारी दर्ता तथा संचालनमा समेत सरकारले लोपोन्मुख तथा सीमान्तकृत समुदायका लागि विशेष व्यवस्था हुने मुख्यमन्त्री शाहीले वताउनुभयो ।

भेटवार्ताका क्रममा लोपोन्मुख तथा सीमान्तकृत समाज उत्थान नेपालका केन्द्रीय अध्यक्ष लालवहादुर राजीले संविधानमा अल्पसंख्यक र अपाङ्गता भएका समुदायलाई एउटै समुहमा आरक्षणको व्यवस्था हुँदा आफुहरुलाई अन्याय भएको वताउनुभयो । लोपोन्मुख तथा सीमान्तकृत समुदायको उत्थानका लागि संविधानमा अल्पसंख्यक समुदायको लागि मात्र आरक्षण समुहको व्यवस्था गर्न अध्यक्ष राजीले माग गर्नुभयो ।