
हरिकृष्ण कुमाई, जुम्ला
पुस २७
कर्णालीको हुम्ला र डोल्पामा लोक सेवा आयोगको उपकेन्द्र स्थापना भएपछि लोक सेवा आयोगमा त्यहाँका यूवाहरुको पहुँचमा वृद्धि भएको छ । लोक सेेवा आयोगबाट लिईने सबै प्रकारका प्रारम्भिक परिक्षा हुन थालेपछि यूवाहरुलाई सहज भएको हो ।
पहिले यातायात खर्च धेरै लाग्ने भएकाले आर्थिक अवस्था कमजोर भएका यूवाहरुलाई परिक्षामा सहभागी हुनको लागि समस्या हुने गर्दथ्यो । फारम भरेर हुलाकबाट पठाउँदा समेत धेरै समय लाग्ने गर्दथ्यो तर अहिले अनलाईनबाट फारम भर्न सक्ने व्यवस्था भएको हुनाले पनि सहज भएको त्यहाँका यूवाहरुले बताएका छन् ।
विगत २ वर्षदेखि लोक सेवा आयोगको अञ्चल कार्यालय जुम्लाको पहलमा उप केन्द्र राखेपछि उनिहरुलाई सरकारी सेवामा प्रवेश गर्न सहज भएको लोक सेवा आयोगको कर्णाली अञ्चल कार्यालयका निर्देशक एकनारायण शर्माले जानकारी दिए । शर्माका अनुसार कालिकोट र मुगु जिल्ला सडक सञ्चालसँग जोडिए संगै हुम्ला र डोल्पामा उपकेन्द्र स्थापना गरेर परिक्षा लिन थालिएको हो ।
प्रारम्भिक परिक्षामा उर्तिण भएका परिक्षार्थीले मात्र जुम्लामा आएर परिक्षामा सहभागी हुने व्यवस्था गरिएको छ । आगामी दिनमा सबै परिक्षा जिल्लामा नै सञ्चालन गर्नको लागी त्यहाँका स्थानियबासीले आग्रह गरेका छन् । यस विषयमा लोक सेवा आयोगको केन्द्रिय कार्यालयमा जानकारी गर्राई सकिएको शर्माले जानकारी दिए ।



Prawash Kumar Shakya । २७ पुष २०७४, बिहीबार १४:३८ बजे