अनुदानको चामल दोब्बर मूल्यमा विक्री


हरिकृष्ण कुमाई, जुम्ला
पौष ३०,
खाद्य संस्थान जुम्लाले दिएको अनुदानको चामल पातारासी गाँउपालिकामा दोब्बर मुल्यमा विक्री भइरहेको पाइएको छ । पातारासी गाँउपालिकाका व्यापारीले स्थानीयलाई प्रयोग गरेर एकै चोटिमा १ देखि २ क्विन्टल सम्म चामल खाद्य संस्थथान जुम्ला बाट खरिद गर्ने गरेको पाइएको छ ।

खाद्य संस्थान जुम्लामा अरुवा मोटो चामल ३० केजीको ९ सय ५०मा विक्री भएको र त्यही चामल पातारासी गाँउपालिका १ का व्यापारी धनराज बुढाले १५ सय देखि १८ सय सम्मको मुल्यमा विक्री गरेको पाइएको छ । खाद्य संस्थान जुम्लाले एक जनालाई २ प्याक भन्दा धेरै चामल नदिने हुनाले आफुले गाउँका स्थानीयबासीको सहयोगमा खाद्य संस्थानबाट एक पटकमा १ क्विन्टल देखि २ क्विन्टल सम्म चामल खरिद गर्ने गरेको व्यापारी बुढाले बताए भने ।

अरुवा मोटो चामल तीस केजीको रु नौ सय पचास मुल्य हाल्ने गरेको र गाँउमा त्यही चामल पन्ध्र सय देखि अठार सय सम्मको मुल्यमा किन्ने गरेका छौ स्थानिय लोक ऐडीले बताए ।

खाद्य संस्थान जुम्लामा एक प्याक चामलको लिन जानकै लागि एक दिनको बाटो लाग्ने हुनाले गाउँमै २ रुपैया महंगो मुल्यमा खरिद गर्दा १ दिनको काम र समयको वचत हुने स्थानिय कृष्ण बुढाले भने । बजारमा गए पनि आर्थिक अवस्था कमजोर भएका कारणले पनि पसल बाट चामल किन्ने गरेको बुढाले बताए ।

जुम्ला खाद्य संस्थान बाट हाल दैनिक अरुवा मोटा र मसिनो चामल विक्री भइरहेको छ । खाद्य संस्थान जुम्ला बाट प्रति व्यक्ति २ प्याक दिने गरेका छौ गाँउमा दोब्बर मुल्यमा विक्री भईरहेको बारे थाहा नभएको खाद्य संस्थान कार्यालय जुम्लाका कार्यालय निमित्त पूर्णबहादुर थापाले भने ।

खाद्य संस्थान जुम्लामा अनुदानको चामलको कोटा आठ हजार क्विन्टल हो तर यो वर्षछ हजार क्विन्टल चामल आएको छ । अनुदानको चामल लिनको लागि पातारासी गाँउपालिका र गोठीचौरका स्थानियहरु धेरै आउने गरेको खाद्य संस्थान जुम्लाले जनाएको छ । गाँउका उपभोक्ताहरु अरुवा मोटो चामलमा ठगीने गरेका भए पनि कसैले चिन्ता लिएको देखिदैन ।
अनुदानको चामल प्राय गरेर मदिरा बनाउन प्रयोग गरिनेगरेको पाइएको छ ।

अनुदानको अरुवा मोटो चामल गाँउमा खाने त कमै होलान अधिकांशले रक्सी बनाउन प्रयोग गरिहेका छन् पातारासी गाँउपालिका एक पाडा गठिगाँउका स्थानिय कृष्ण बुढाले भने । हाम्रो गाँउमा अहिले अरुवा मोटो चामल खाने भन्दा रक्सीमा धेरै प्रयोग हुने गरको बुढाले बताए । गाँउमा कुनै ठुलो भोज भतेर भए मात्र खाद्य संस्थान जुम्लाको अनुदानको चामल प्रयोग गरिने व्यापारी धनराज बुढाले बताए ।