कर्णालीमा तिब्रगतिको इन्टरनेट सेवा



अविरल ढकाल, जुम्ला
माघ १६
कर्णालीमा तिब्रगतीको इन्टरनेट सेवा विस्तारका लागि सिम्पल नेटवर्कले जुम्लामा इन्टरनेट विस्तार कार्य गरेको छ । जुम्लाका सबै स्थानिय तहका ग्रामिण बस्तीहरु सम्म नेर्टवकले आफ्नो तिब्रगतिको इन्टरनेट सेवा विस्तार गर्न लागेको हो  । कर्णालीमा तिब्रगतिको इन्टरनेट सेवा विस्तार कार्यमा जुटेको सिम्पल इन्टीलीजेन्ट सिस्टम एण्ड टेक्नोलोजि प्रा.लिले जुम्लामा इन्टरनेट सेवा विस्तार गरिरहेको हो ।

वईव सरोवर कम्युनिकेशन प्रा.लि काठमाडौँको प्राविधिक सहयोग तथा सिम्पल इन्टीलीजेन्ट सिस्टम एण्ड टेक्नोलोजि प्रा.लि जुम्लाको १ करोड लगानीमा सिम्पल नेटवर्कको इन्टरनेट सेवा विस्तार भएको हो ।

सिम्पल नेटवर्कका प्रवन्धक प्रतिभा शाहीका अनुसार नेपालगंजको मिट प्वाइन्टबाट सिम्पल नेटवर्कको तिब्रगतिको इन्टरनेट सेवाको लिंक दैलेखको रानीमता टावर हुदै कालिकोटको पुगेको टावरबाट जुम्लाको बास्थाप्ला टावरमा पठाईने भएको छ । जस अन्तरगत जुम्लाको बास्थाप्ला टावरले जिल्लाका सबै स्थानिय तहलाई पायक पर्ने हिसाबले विस्तार गरिएका १ दर्जन बढि टावरमा सिम्पल नेटवर्कले तिब्रगतिको इन्टरनेट सेवा विस्तार गर्नेछ ।

‘हामि तत्काल कर्णालीमा तिब्रगतिको इन्टरनेट सेवा विस्तार गर्दैछौं, जुम्लामा काम सम्पन्न भयो, स्थानियले ढुक्कताका साथ आफ्नो घरदैलोमै ५० एमबिको क्षमता सहितको इन्टरनेट सेवा प्रयोग गर्नेछन्, सिम्पल नेटवर्कको बजार मागका आधारमा केहि वर्षभित्र देशभर सेवा शुरु हुनेछ’ प्रबन्धक शाहीले भनिनन् ।

पर्यटकिय क्षेत्रमा हटस्पोट

कर्णालीमा प्रसिद्ध पर्यटकीय क्षेत्रहरुमा सिम्पल नेटवर्कले पर्यटकिय स्थलमा हटस्पोट संचालन गर्ने भएको छ । जसका लागी मुगुमा रहेको राराताल, जुम्लाको तातोपानी धारा, आधा दर्जन बढि दह र कुण्ड रहेका रमणिय पाटन क्षेत्र, खस भाषाको सभ्यता स्थान तथा सिंजा उपत्यका, कालिकोट, जुम्लाको सिमा तथा ब्यापारीक केन्द्र नाग्मघाट लगाएतका दर्जनौ स्थानमा हटस्पोट संचालन गर्ने भएको छ ।

बैकिङ सेवा शुरु गर्न सहज

इन्टरनेट समस्याका कारण स्थानीय तह गाउँपालिकामा बैकिङ सेवा शुरु गर्न समस्या भैरहेकोले सिम्पल नेटवर्कको इन्टरनेट सेवा विस्तारपछि स्थानिय तहमा बैकिङ सेवा शुरु गर्न सहज हुने भएको छ । हाल इन्टरनेट समस्या देखाउदै जुम्लाका ग्रामीण भेगका गाउँपालिका अझै पनि इन्टरनेटसँग सम्बन्धित महत्वपूर्ण कामकालागि सदरमुकाम बाटै सम्पादन गरीरहेका छन् ।

स्थानीय तहमा इन्टरनेट र बैकिङ सेवा नभएकाले समस्या सदरमुकाम केन्द्रीत हुनु परेको र केही सुचनाको जानकारी लिनुपर्ने अवस्था आएमा सदरमुकाम खलंगामै आउनु पर्ने बाध्यता रहेको तिला गाउँपालिका कार्यकारी अधिकृत विष्णुप्रसाद धितालले  बताए ।