१७ माघ, काठमाडौं । ज्यान मार्ने धम्की दिएको आरोप लागेपछि प्रधानन्यायाधीश गोपाल पराजुली प्रहरी छानविनको घेरामा परेका छन् ।
प्रधानन्यायाधीश पराजुलीले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बुधबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा निवेदन दिएका छन् ।
लगत्तै जिप्रकाले यसबारे छानविन गर्न महानगरीय प्रहरी परिसर, काठमाडौंलाई भनेको छ । प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले भने, ‘यो ठूलो केस भएकाले सुरक्षा थेट हो कि होइन, परिसरलाई पठाएको छु ।’
अधिवक्ता भण्डारीले निवेदनमा प्रधानन्यायाधीश पराजुलीले आफूलाई फोन गरेको नम्बर पनि उल्लेख गरेका छन् र कल डिटेल मगाउन माग गरेका छन् ।
प्रजिअले तोक लगाएर पठाएपछि परिसरले सम्वन्धित निकायसँग कल डिटेल मागेको छ । साथै छानविनका लागि महानगरीय प्रहरीवृत्त बानेश्वरलाई पत्र पठाइएको एसपी रविन्द्र धानुकले जानकारी दिए ।
साभारः अनलाइनखबर



Prawash Kumar Shakya । १७ माघ २०७४, बुधबार १२:३७ बजे