स्थानियवासीमा खुसी छायो

कृष्णराज धमाला
फाल्गुण ६, सुर्खेत– कर्णाली करीडोर अन्तरगत ३० किलोमिटर सडकमा गाडी सरर गुडेपछि स्थानियवासी हर्षित भएका छन् ।
समग्र कर्णालीको आर्थिक, समाजिक, साँस्कृतिक, राजनैतिक, पर्यटकिय विकाससँग जोडिएको कर्णाली करिडोर अन्तरगत घाटाचौर सम्मको ३० किलोमिटर सडकमा आइतबार सरर गाडी गुडेपछि त्यहाँका स्थानियवासीहरु हर्षित भएका हुन् । बिगत लामो समयदेखी सडक निर्माण कार्यमा अन्यौलता भएपनि नेपाली सेनाद्धारा करीडोर निर्माण कार्य सुरुवात भएसँगै निर्माण कार्यले तिब्रता पाई कार्य सम्पन्न भएपछि सो सडकमा पहिलो पटक गाडी गुडेको हो ।
कर्णाली राजमार्ग अन्तरगत सुर्खेत जुम्ला सडक खण्डको जिते बजारदेखी करीडोरको थ्रीपु सम्म ३० किलोमिटर सडकमा गाडी गुड्ने भएपछि त्यहाँका स्थानीयले राहतको महशुस गरेकाछन् । करिडोरको ३० किलोमिटर सडकमा यातायात संचालनमा आउने भएपछि स्थानिय नागरिकहरुले खुसीयाली समेत मनाएका छन् ।
आइतबार कालीकोटका प्रमूख जिल्ला अधिकारी चन्द्रनाथ गौतम, पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवाल, राष्कोट नगरपालिकाका मेयर काशीचन्द्र बराल, गुल्मपति विज्ञान खनाल, कर्णाली करिडोर कार्यदलका सेनानी मिलन कार्की, रारा कर्णाली यातायात समितिका अध्यक्ष हस्तबहादुर बम, सञ्चारकर्मीहरु सहितको सरोकारवालाहरुको टोली गाडी सहित पहिलो पटक थिर्पुको घाटाचौर पुगेपछि त्यहाँका स्थानिय नागरिकहरुले स्वागत गरेकाछन् । स्थानियले गाडी सहित आएको टोलीलाई नागरिक अभिनन्दन समेत गरेका छन् ।
कालिकोट जिल्लामा संचालनमा आएको रारा कर्णाली यातायातका गाडी र नेपाली सेनाको गाडी सहित ७ वटा गाडि पहिलो पटक घाटाचौर पुगेको छ । कालिकोट जिल्लाको खुलालु देखी बाजुरा, हुम्ला हुँदै चिनको सिमाना हिल्सा जोड्ने, नेपालकै उत्तर दक्षिण भारत र चिनलाई जोड्ने अन्तराष्ट्रि महत्वको राजमार्ग कर्णाली करिडोरमा गाडीहरु गुड्दा कर्णालीकै विकासले गति पाउने स्थानीयले आशा गरेकाछन् ।
कर्णाली करिडोरमा ठेकेदार मार्फत करीब २३ करोड बजेट खर्च गरे पनि अपेक्षित रुपमा कामले तिब्रता नपाँउदा स्थानिय नागरिकहरुले आन्दोलन मार्फत २०७१ साल चैत ५ गते नेपाल सरकारको मन्त्रीस्तरीय निर्णय भई चैत ९ गतेबाट निर्माण कार्यको सुरुवात भएको थियो ।



Milan Shrestha । ६ फाल्गुन २०७४, आईतवार ०४:५७ बजे