
बिस्नप्रसाद न्यौपाने
कालिकोट फागुन ८ गते ।
फलफुल तथा तरकारीको व्यवसायीक खेतीका लागि पकेट क्षेत्र मानिएको कालिकोट जिल्लाको तिलागुफा नगरपालिका साविकको चिल्खाया गाविसमा उत्पादित स्याउ तथा तरकारीहरुलाई ढुवानीका लागि रोपवे संचालन भएको छ ।
गाँउमा उत्पादित फलफुल तथा तरीकारीहरुलाई बजारिकरण गर्नाका लागि कालिकोट जिल्लामा संचालित उच्च मुल्य कृषि बस्तु विकास आयोजनाको सहयोगमा कालिकोट जिल्लाको साविकको चिल्खाया गाविसको भट्टाडीदेखी कर्णाली राजमार्ग अन्तरर्गत पर्ने गाल्जे बजार जोड्ने रोपवे संचालन भएको हो ।
चिल्खाया गाविसमा उत्पादित फलफुल तथा तरकारीहरुलाई बजारिकरण गर्नका लागि कठिनाई भएका कारण उच्च मुल्य कृषि बस्तु विकास आयोजनाको २९ लाख लगानीमा रोपवे संचालन भई तीलागुफा नगरपालिकाका मेयर रतनत्रहादुर शाहीले औपचारीक रुपमा उद्घाटन गरेका छन् ।
विगतका बर्षहरुमा चिल्खाया गाविसमा उत्पादित कृषि जन्य बस्तुहरुलाई ५ घण्टाको पैदल यात्रासँगै जुम्ला सुर्खेत राजमार्गमा ल्याउन असहज हुने भएकाले स्थानिय कृषकहरुले उत्पादन गरेका बस्तुहरुले बजार पाउन सकेका थिएनन् । चिल्खायाको भट्टारी गाल्जे बजारमा रोपवे संचालन भएपछि घर नजीकैको रोपवेबाट जुम्ला सुर्खेत राजमार्गमा सहजै स्थानिय उत्पादनहरुलाई बजारमा ल्याउन सहज हुने भएको छ ।
बिद्युत नभए पनि ग्रायभिटि गुरुत्वाकर्षण बलको माध्यमबाट संचालन हुने यातायातको बैकल्पीक साधन रोपवेले तिलागुफा नगरपालिकला वडा नं. ११ चिल्खाया तथा आसपासका स्थानिय कृषकहरुलाई गाँउमा उत्पादित फलफुल तथा तरकारीहरुलाई सहजै जुम्ला सुर्खेत राजमार्गमा ल्याई बजारिकरण गर्नका लागि सहजता प्रदान गर्ने तिलागुफा नगरपालिकाका मेयर रतनबहादुर शाहीले बताए । उनले साविकको चिल्खाया गाविसका स्थानिय व्यवसायीक फलफुल तथा तरकारी खेती गर्ने कृषकहरुको ढुवानीका साथै कालिकोट जिल्लाको सदरमूकाम मान्मादेखी गाडिमा ल्याईएको दैनिक उपभोग्य सामानहरु घर लिनका लागि सहजता हुने बताए ।
करीब ५ घण्टाको जोखिमपूर्ण यात्रालाई सहजाता दिने रोपवेले एक पटक माथिबाट ९० किलोग्राम र तलतीरबाट ३० किलोग्रामका दरले सामान ढुवानी गर्ने उच्च मुल्य कृषि बस्तु विकास आयोजनाले जनाएको छ । आयोजनाका अनुससार सिजनका फलफुल तथा तरकारीहरु समयमै सडकको पहुँचमा पुग्ने र बजारीकरणका लागि पनि सहज हुने भएकाले स्थानिय कृषकहरुको माग अनुसार भट्टाडीदेखी गाल्जे बजारमा रोपवे निर्माण गरिएको छ ।
Milan Shrestha । ८ फाल्गुन २०७४, मंगलवार १२:१८ बजे