विकास निर्माणका काममा अनुगमन


स्थानियमा थप सहयोगको अपेक्षा
अविरल ढकाल
फागुन १४, जुम्ला ।

जुम्लामा सरकारी स्तरबाट सञ्चालनमा रहेका विकास निर्माणका गतिबिधिको अनुगमन थालीएको छ । सरकारी टोलीले तातोपानी र तिला गाउँपालिकामा स्थलगत अनुगमन गरेको छ । कृषि तथा खाद्य सुरक्षा आयोजनाको कामको अनुगमन गर्न सरकारी टोली गाउँमा पुगेको हो ।
तातोपानी ३ र तिला गाउँपालिका २ का विभिन्न गाउँमा सरकारी टोलीले आयोजना अन्तर्गतका विभिन्न क्रियाकलापको अनुगमन गरेको छ । जिल्ला समन्वय समितिका संयोजक लालबहादुर सार्की र प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल सहितको टोलीले विकासमा भईरहेका विभिन्न गतिबिधिका विषयमा छलफल समेत गरेको छ ।

कृषि क्षेत्रमा भएका विकासे कामकाजको अध्ययन अनुगमन गरेर किसानलाई उत्प्रेरणा दिन, खाद्य सुरक्षा कार्यक्रमले धुँवारहित चुलो वितरण, आधुनिक खेती प्रणाली अन्तर्गत मिनी टेलरको प्रयोग, बेमौसममा हरियो सागसव्जीको खेती सिचाई लगातका कामको अनुगमन गरीएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख भरतप्रसाद कँडेलले बताउनुभयो । समयमै सम्पन्न भएका आयोजनाको कामको अनुगमन समयमै गर्नाले किसानलाई रकम निकासा गर्न र बिग्रेको काम सुधार्न मौका मिल्ने प्रमुख कँडेलको भनाइ छ ।

जिल्ला समन्वय समितीका संयोजक लालबहादुर सार्कीले सरकारी पक्षवाट भएका राम्रा कामले गाउँमा स्थानीय किसानलाई राहत पुगेको भन्दै गाउँमा विकास निर्माणको काम प्रति अपनत्व भएको बताउनुभयो । उहाले आगामी दिनमा हाम्रो विकास, राम्रो विकासको मान्यतालाई अवलम्वन गर्दै दिर्घकालिन विकासको अवधारणा बनाउन आवश्यक भएकोमा जोड दिनुभयो ।
स्थानियले गरेको विकास हेर्न गाउँमा सरकारी टोली पुग्दा स्थानीय निकै हर्षित थिए । आफुले गरेको विकास हेर्न र आगामी दिनमा सहयोगको अपेक्षा गरेको तिला गाउँपालिका २ का कलीवहादुर रावतले बताउनुभयो । पछिल्लो समयमा गाउँमा बेमौसममा हरियो सागपात पाउनुका साथै मौसममा व्यवसायीक तरकारी खेती गरेर किसानको घर खर्च टर्ने गरेको उहाँको भनाइछ ।

कृषि तथा खाद्य सुरक्षा अन्र्तगत साना अनुदान कार्यक्रमले गाउँगाँउमा कुखुरा पालन, खरायो पालनका साथै स्थानीय उत्पादनबाट सर्वोत्तम पिठो बनाएर खुवाउने समेत सल्लाह दिने गरेको छ । सर्वाेत्तम पिठोलाई स्थानियले कुपोषित बालबालिकालाई खुवाउन थालेपछि पोषण स्थितीमा सुधार आएको अनुभव स्थानीयको छ । कार्यक्रम शुरु भईसके पछि गाउँमा धुँवाबाट मुक्त हुनुका साथै पोषिलो खानेकुरा बाट महिला तथा वालवालिका बञ्चित हुनु परेको छैन ।

अगुनमनका क्रममा किसानले कृषि क्षेत्रलाई प्रथामिकताका साथ अघि बढाउनको लागि अनुगमन टोली सँग आग्रह गरेका थिए ।