गाँउमा डोजर पुगेपछि स्थानिय दङ्ग


बिस्नप्रसाद न्यौपाने
फागुन १५, कालिकोट ।

कालिकोट जिल्लाको पचालझरना गांउपालिकाको वडा न.१ सिकुमा सडक निर्माणका लागि कर्णाली नदी पार गरेर डोजर पुगेपछि स्थानिय नागरिक दङग परेका छन् । गाउपालिकाको पहलमा दुई दिन लगाएर कर्णाली नदिबाट डोजर सिकु पुगेपछि स्थानिय नागरिकहरु दङग परेका हुन् ।

पचालझरना गाउँपालिकाको विकट बस्ती सिकुमा डोजर पुगेपछि वडा न. १ का वडा अध्यक्ष रत्नलाल न्यौपानेको नेतृत्वमा गाँउका स्थानिय नागरिकहरुले डोजर चालकलाई फुलमाला लाएर स्वागत गरेका छन् । स्थानिय कालीबहादुर ऐडीका अनुसार सिकुका तिन सयको हाराहारीमा उपस्थित भएका स्थानिय नागरिकहरुले आफुहरुको गाडी चढ्ने रहर पुरा हुने बताएकाछन् ।

स्थानिय ७९ वर्षका धन्नाम खड्काले गाँउमा डोजर आंउँदा पनि आफुहरुलाई गाडी पुगेर यात्रा गरेको महसुस भएको बताउनुभयो । उहाँले सिकु जस्तो विकट ठांउँमा सडक खन्न्न डोजर आउदा छिटो गाडी पुग्ने आशा पलाएको भन्दै खुसी ब्यक्त गर्नुभयो ।

पचालझरनाको मुख्य द्धारका रुपमा रहेको उक्त सडक यसै वर्ष गांउपालिकाको एक करोड रकमले दुई किलोमिटर काट्ने तयारी रहेको वडा अध्यक्ष न्यौपानेको भनाइछ । सिकुको भात्तडीबाट डोजर सिकु पुगाएको र बुधबार सडकको औपचारिक उद्घाटन गरिने अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । अहिले पचालझरना गांउपालिकामा कोटिला हुंदै नानिकोट सम्मका लागि सडक निर्माणका लागि डोजरले काम शुरु गरेको छ ।