
‘हाम्रा दल र नेताहरू आफूलाई सर्वहारावादी भन्छन्, तर खासमा यिनीहरू सर्वहारामारा हुन्’
डा. गोविन्द केसी आफ्नो जन्मदिन कहिल्यै मनाउँदैनन्।
टिचिङ अस्पतालमा बिरामी उपचार र विद्यार्थी पढाउनेबाहेक उनी वर्षको केही समय तलब जोगाएर दुर्गम गाउँ डुल्न जान्छन्। त्यो पनि व्यक्तिगत भ्रमणमा होइन, गाउँका बिरामीको निःशुल्क उपचार गर्न।
अस्पतालकै क्वाटरमा बस्ने यी अविवाहित ‘सन्त’ डाक्टरले आफ्ना लागि विरलै समय निकाल्छन्। जन्मदिनजस्ता उत्सव त उनलाई हेक्का पनि हुँदैन।
यसपालि भने केही विद्यार्थी र केसी आन्दोलनका अभियन्ताले ‘सरप्राइज’ दिए।
शुक्रबार ६० वर्ष पूरा गरी ६१ लागेका डा. केसीको अनसनस्थलमा बेलुकी साढे ५ बजेतिर विशेष चहलपहल थियो। अरू बेला आन्दोलनमा ऐक्यबद्धता जनाउन र उनको स्वास्थ्यबारे सोधपुछ गर्न आउनेको भीड लाग्थ्यो। त्यतिखेर भने करिब दुई दर्जन विद्यार्थी र अभियन्ता डा. केसीको जन्मदिन मनाउन भेला भएका थिए।
उनीहरूले बेलुन फुकेर कोठाका भित्तामा टाँसे। जन्मदिनका शुभकामना सन्देशले भित्ता सिंगारे। तस्बिरहरू राखे। अनि सबैले ताली बजाउँदै एक स्वरमा भने, ‘ह्याप्पी बर्थ डे टू यू, ह्याप्पी बर्थ डे टू यू, ह्याप्पी बर्थ डा. केसी, ह्याप्पी बर्थ डे टू यू।’
सधैंजसो मान्छेको कल्याङमल्याङ मात्र सुनिने अनसनस्थलमा तालीको ध्वनि गुञ्जियो।
‘मैले अहिलेसम्म बर्थडे मनाएको छैन। मलाई थाहा पनि हुँदैन। आउँछ जान्छ,’ नौ दिनदेखि अनसनरत डा. केसीले अक्सिजन मास्क निकालेर भावुक मुद्रामा भने, ‘हिजो राति मात्र भोलि त तपाईंको बर्थ डे हो नि भनेर साथीहरूले सुनाउनुभयो।’
‘आज तपाईंहरूले यसरी मेरो बर्थडे मनाइदिनुभयो, धेरै धेरै धन्यवाद,’ उनले हात जोडेर भने।
चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा व्याप्त बेथिति अन्त्यका लागि आन्दोलनरत यी सत्याग्रहीको जन्मदिन संयोगले त्यस दिन परेको छ, जब दलहरू उनको मागबमोजिम चिकित्सा शिक्षा विधेयक पारित गर्न असफल भएका छन्।
डा. केसीले माग गर्दै आएको उक्त विधेयक पारित नगरी रुपान्तरित संसद शनिबारबाट अन्त्य हुने भएको छ। अब कि मंसिरमा प्रतिनिधिसभाको चुनावपछि अर्को संसदमा उक्त विधेयक पेस गर्नुपर्छ, कि सरकारले अध्यादेशबाट विधेयक ल्याउनुपर्छ।
सरकारले केसीका माग सम्बोधन गर्ने गरी चिकित्सा शिक्षा विधेयकको संशोधित मस्यौदा तयार पारेर यही संसद बैठकबाट पारित गर्ने तयारी गरेको थियो। प्रमुख प्रतिपक्षी नेकपा एमाले र सत्तारुढ माओवादी केन्द्रकै विरोधका कारण सरकारको यो प्रयास सफल हुन सकेन। यी दलले उक्त संशोधित विधेयक संसदको कार्यसूचीमै राख्न दिएनन्।
दलहरूको यो कदमलाई डा. केसीले ‘माफियाप्रवृत्तिको हस्तक्षेप’ भनेका छन्।
समाजवादउन्मुख संविधान र समाजवादी तथा साम्यवादी पार्टीहरूको बोलबाला भएको देशमा चरम व्यावसायिकीकरणविरुद्ध लड्नुपर्ने अवस्थाका लागि केसीले दुःख व्यक्त गरे।
‘हाम्रो संविधान समाजवादउन्मुख छ। पार्टीहरू समाजवादी र साम्यवादी मात्र छन्। यही देशमा यिनै पार्टी र नेताहरूले जनताको गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यको चरम व्यवसायिकीकरण गरेका छन्,’ उनले भने, ‘यिनीहरू आफूलाई सर्वहारावादी भन्छन्, तर खासमा यिनीहरू सर्वहारामारा हुन्।’
उनले चिकित्सा शिक्षामा व्याप्त बेथितिविरुद्ध पछिल्लो पाँच वर्षदेखि निरन्तर लडेकोमा आफूलाई विभिन्न ‘ट्याग’ भिराइएको पनि सुनाए।
‘कसैले मलाई पुँजीवादी भन्छन्, कसैले कम्युनिस्ट भन्छन्,’ डा. केसीले भने, ‘म पुँजीवादी, समाजवादी, साम्यवादी केही होइन, म अहिंसा र मानवतामा विश्वास गर्छु र त्यसैको अनुसरण गर्ने प्रयासमा छु।’
संविधानले जनतालाई स्वस्थ रहने अधिकार प्रत्याभूत गरे पनि त्यही संविधान बनाउने दल र नेताहरूले केही व्यवसायीको स्वार्थ निम्ति उक्त अधिकार हनन् गरेको उनले आरोप लगाए।
‘हामीले चिकित्सा शिक्षा गुणस्तरीय हुनुपर्यो भनेका छौं। देशभरि मेडिकल कलेजको न्यायोचित वितरण हुनुपर्यो भनेका छौं। दुरदराजका जनताले पनि गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पाउनुपर्यो, चिकित्सा शिक्षामा सबै विद्यार्थीको समान पहुँच हुनुपर्यो भनेका छौं। यसैका लागि एउटा सशक्त चिकित्सा शिक्षा ऐन ल्याउनुपर्यो भनेर हामी बारम्बार लडिरहेका छौं, तर माफिया सांसदहरूले त्यो ऐन आउन दिइरहेका छैनन्। यसमा एउटा–दुइटा होइन, सबै दलका सांसद संलग्न छन्,’ डा. केसीले भने।
साभारः सेतोपाटी ।



Milan Shrestha । २८ आश्विन २०७४, शनिबार ०८:२५ बजे