१२ जेठ, काठमाडौं-एसएलसी परीक्षाको नतिजा यस वर्ष विगतभन्दा केही ढिलो आउने भएको छ। परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले नतिजा आगामी असार तेस्रो साता मात्र सार्वजनिक गर्ने भएको हो।
कार्यालयका उपनियन्त्रक गुरुप्रसाद पौडेलले एसएलसी नतिजा असार १२ देखि १५ गतेभित्र प्रकाशन गर्ने तयारी भइरहेको जानकारी दिए ।
‘स्टुडेन्ट मेमो’ बारे केन्द्राध्यक्ष र विद्यार्थीलाई राम्ररी जानकारी गराउन नसकिएकाले नतिजा प्रकाशनअगावै त्यससम्बन्धी त्रुटि कम गर्ने लक्ष्य पूरा गर्न चुनौती थपिएको कार्यालयका उपनियन्त्रक गुरुप्रसाद पौडेलले बताए । फारममा नाम (हिज्जे), थर, जन्ममिति, ऐच्छिक विषयलगायत तथ्यांक नमिलाएका विद्यार्थीले नतिजा प्रकाशनपछि त्यसकै कारण सास्ती बेहोर्नुपरेपछि पनिकाले यस वर्षदेखि स्टुडेन्ट मेमो व्यवस्था गरेको थियो । त्यसका लागि ६ लाख परीक्षार्थीको सम्पूर्ण विवरणसहितको स्टुडेन्ट मेमो तयार गरी १ हजार ९ सय ४३ परीक्षाकेन्द्रमा पठाइएको थियो ।
यस वर्ष विद्यार्थीले फारममा भरेको विवरण परीक्षा नियन्त्रण कार्यालयको कम्प्युटरमा पनि समावेश गरिएको छ । प्रवेशपत्र, पनिका र मेमोमा विवरण एउटै हुनुपर्छ । त्रुटि भएका विवरण सच्याउन वैशाख १५ भित्र आवेदन माग गरे पनि कसैले नबुझाएको पनिकाले जनाएको छ ।
‘बर्सेनि विद्यार्थीका विवरणमा हुने त्रुटि करिब १० हजार हाराहारी छ,’ उपनियन्त्रक पौडेलले भने, ‘विवरणमा भएको त्रुटि सच्याउन विद्यार्थीले जिल्ला र केन्द्रसम्म धाई आर्थिक भार झेल्नुपर्ने झन्झटिलो हटाउन मेमोको अवधारणा ल्याएको हो ।’ उनले थपे, ‘तर, कतिपय केन्द्राध्यक्षले मेमो नबाँडेको, विद्यार्थीले चासो नदेखाएको, जिशिकामा बुझाएको तथ्यांक पनि नबुझाएको, विद्यार्थीले वैशाख १५ भित्र त्रुटि सच्याउन विवरण उपलब्ध नगराउँदा पनि ढिलाइ भएको हो ।’ यस वर्ष पनिकाले ग्रेडिङ प्रणालीबाट नतिजा प्रकाशन गर्ने भएकाले त्यसको व्यवस्थापन गर्न पनि समय लाग्ने पौडेलले जानकारी दिए । ‘ग्रेडिङ प्रणालीबाट नतिजा प्रकाशनका लागि प्राविधिक तयारी हुँदै छ,’ उनले भने, ‘नयाँ व्यवस्थाले पनि अलि समय लाग्छ ।’
पौडेलका अनुसार देशका ६४ केन्द्रमा उत्तरपुस्तिका परीक्षण गराइएको थियो । तीमध्ये २७ केन्द्रबाट मात्र उत्तरपुस्तिका आइसकेको छ ।
परीक्षा सकिएको अन्तिम दिन सबै विद्यार्थीलाई केन्द्राध्यक्षले केन्द्रमै मेमो बाँड्न पनिकाको निर्देशन पनि थियो । तर, कतिपय केन्द्राध्यक्षले मेमो नै बाँडेनन् भने कतिपय विद्यार्थी परीक्षा सकिनासाथ हिँडेपछि मेमो हेर्नसमेत पाएनन् ।
काठमाडौं उपत्यकाकै परीक्षा केन्द्रले समेत परीक्षार्थीलाई मेमो नबाँडेको पाइएको छ । पद्मकन्या उच्च मावि, डिल्लीबजारका विद्यार्थीको परीक्षाकेन्द्र सिनामंगलस्थित गुह्येश्वरी मावि थियो । तर, यो केन्द्रले तत्काल मेमो बाँडेन । केन्द्रले विद्यार्थीको विवरणसहितको मेमो पद्मकन्यामै पठाइदिएको प्रिन्सिपल रीता तिवारीले जनाइन् ।
‘हाम्रा विद्यार्थी मेमो केन्द्रले हामीलाई नै पठाइदियो,’ प्रिन्सिपल तिवारीले नागरिकसँग भनिन्, ‘हामीले परीक्षा दिएर गइसकेका विद्यार्थीलाई स्कुलमै बोलाएर मेमो बाँड्यौं,’ उनले थपिन्, ‘कति जना घर गइसकेकाले आउन पाएनन् ।’
सुनसरी, इनरुवामा रहेको शारदा उमावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष विश्वमान परियारले विद्यार्थीले ऐच्छिक विषयको विवरणमै बढी त्रुटि गर्ने गरेको बताए । उनले आफ्नो परीक्षाकेन्द्रमा सबै मेमो परीक्षाको अन्तिम दिनमै बाँडेर त्रुटि सच्याउन आग्रह गरेको जनाए । विद्यार्थीलाई पर्याप्त सूचना नदिइएकाले उनीहरूले मेमोबारे बुझ्न नसकको परियारको भनाइ छ ।
उपनियन्त्र पौडेल सकेसम्म कम त्रुटि हुने गरी नतिजा प्रकाशन गर्ने तयारी भइरहेको बताउँछन् । ‘नतिजा प्रकाशनपछि ६ महिनाभित्र त्रुटि सच्याउने व्यवस्था छ,’ उनले भने, ‘यस वर्ष हाम्रो टिमले त्रुटि सकेजति कम गर्ने लक्ष्यसहित नतिजा प्रकाशन तयारी गरिरहेको छ । परीक्षा विगतभन्दा दुई साता ढिलो सुरु भएको थियो, मेमो पनि समयभित्र नआएकाले नतिजा केही ढिलो भने हुने नै भयो।’
साभारः नागरिक अनलाइन



Prawash Kumar Shakya । १२ जेष्ठ २०७३, बुधबार ०३:३७ बजे