भण्डारा कुनैपनि हालतमा सञ्चालन हुँदैनः प्रजिअ खड्का


३० चैत्र नेपालगन्ज । कोरोना भाइरस संक्रमणको उच्च जोखिममा बाँके देखिएकै बेला यसलाई बल पु-याउँदै उपमहानगरपालिकाले हचुवाको भरमा भण्डारा सञ्चालन गर्ने भनि गरेको निर्णयको चौतर्फी विरोध भएको छ ।

लक्षितवर्गका नाममा राहत र सहयोग वितरणमा देखिएको अनियमितता र ब्रम्हलुटले आजित नागरिकले उठाएका विरोधका आवाजलाई मत्थर पार्न उपमहानगरपालिकाले जनभावना नबुझेरै हचुवाको भरमा यस्तो निर्णय गरेको भन्दै उक्त निर्णयको चौतर्फी विरोध र आलोचना भइरहेको हो ।

उपमहानगरपालिकाले गरेको उक्त निर्णयको शनिबारदेखि नै बाँकेमा व्यापक विरोध तथा आलोचना हुँदै आएको छ । यसरी हचुवाको भरमा भण्डारा लगाउँने निर्णय गर्नु र आमनागरिकलाई भण्डारामा खाना खान आउनुपर्ने निमन्त्रणा गर्नुले उपमहानगर सरकार विरोधी गतिविधीमा सक्रिय हुन थालेको जानकारहरूको बुझाई छ ।

कोरोनाको उच्च जोखिममा बाँके देखिएका बेला नेपालगन्ज उपमहनागरपालिकाले अघि सारेको भण्डारा सञ्चालन योजना कुनै हालतमा पनि ठिक नभएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताउनुभएको छ । उहाँकाअनुसार उपमहानगरपालिकाले सोमबारदेखि भण्डारा चलाउने निर्णय गरेपनि उक्त निर्णय कार्यान्वयनमा आउन नसक्ने भएको छ । उपमहानगरको निर्णयपछि गाउँगाउँबाट मात्रै नभई बस्ती र टोलबाट समेत व्यापक विरोध र आलोचना आइसकेको छ ।

प्रजिअ खड्काका अनुसार खाना नै खुवाउँने भएर प्रत्येक वार्डलाई जिम्मा दिएर लक्षितवर्गको पहिचान गरी घर–घरमा पु¥याउन सकिएला । उहाँले भन्नुभयो ‘तर, भण्डारा नै चलाउँन बाँके प्रशासनले अनुमति दिदैन र दिएको पनि छैन्  यस्तो अबस्थामा उपमहानगरपाकिलाको उक्त योजना अघि बढ्न सक्दैन् । उपमहानगरपालिकालाई बाँके प्रशासनले तत्कालै उक्त निर्णय खारेज गर्न र भण्डाराको विकल्प खोज्न अपील गरिसकेको प्रजिअ खड्का बताउनुभयो । नेपालगन्जमा लकडाउन कायमै रहेको छ यस्तो जोखिमको बेला उपमहानगरपालिकाको भण्डारा योजना रोकिनुपर्छ । यसका लागि मैले सम्बन्धित निकाय र पक्षलाई कार्यक्रम रोक्न भनिसकेको छु ।’

बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओली पनि उपमहानगरपालिकाले सञ्चालन गर्ने भनेको भण्डार समयानुकुल नभएको बताउनुहुन्छ । भण्डारामा आमनागरिक खाना खान आउने हुँदा त्यहाँ हुने भीडभाडलाई प्रहरीले समेत कन्ट्रोल गर्न असम्भव देखिएको छ ।

जनभावना विपरित सरकारको लकडाउन घोषणाको उल्लंघन गरी भण्डारा लगाउने अधिकार उपमहानगरपालिकालाई नभएको भन्दै कारकाँदोका स्थानीय स्मृति डीसी उपमहानगरपालिकाले भण्डारा सञ्चालन गरेमा लकडाउनको सोझै उल्लघन हुने निश्चित भएको बताउनुहुन्छ ।

उपमहानगरपालिकाको वडा नम्बर ५ स्थित हडियाबाबा मन्दिर परिसर, वडा नम्बर २ स्थित बागेश्वरी मन्दिरको पार्क, वडा नम्बर ९ स्थित रामलिला मैदान, वडा नम्बर २० स्थित आदर्श मावि राँझा र वडा नम्बर १२ नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल पछाडी रहेको आँप बगियामा निःशुल्क भण्डारा सञ्चालन गर्ने तयारी गरको छ । तर, यी ठाउँमा कुनैपनि हालतमा सामािजक दूरी कायम हुनुका साथै भीडभाड कम हुने सम्भावनै देखिदैन् ।

कारकाँदोको मान्छे राँझामा, चौलिक्काको मान्छे रामलिला मैदानमा खाना खान जाँदा कसरी सामाजिक दूरी कायम र भीडभाड कम होला यस विषयमा उपमहानगरपालिकाका जनप्रतिनिधीले गम्भीर हुन जरूरी देखिएको छ । सस्तो लोकिप्रयताका लागि सरकारको लकडाउन नै उल्लङ्घन गर्न खोज्ने जोकोहीमाथि सरकारले कारबाहीको नीति अभिलम्ब गर्नुपर्ने जानकारहरू बताउँछन् । उपमहानगरपालिकाले उक्त भण्डारा सञ्चालन गर्ने निर्णय गरेसँगै फेसबुक लगायतका सामाजिक सञ्जालमा यसको चर्को विरोध र आलोचना बढेको छ ।

कोरोना भाइरसको सक्रमणको त्रासले घरभित्रै लकडाउनमा बसेका नेपालगन्जियालाई घर बाहिर निकालेर कोरोना संक्रमणको जोखिम बढाउने काममा उपमहानगरपालिका सक्रिय हुन थालेको आम नागरिकको बुझाई छ । यस्तो अवस्थामा भण्डारा सञ्चालन गरेर भीडभाड बढाउन खोज्नु कोरोना संक्रमणको शिकार बनाउँनु नै भएको स्थानीयले बताएका छन् ।