कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषदले गर्यो बिभिन्न १० महत्वपूर्ण निर्णय


कृष्णराज धमाला
फागुन २७, सुर्खेत ।

कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले बिभिन्न दश वटा महत्वपूर्ण निर्णय गरेको छ । शनिबार समपन्न मन्त्रीपरिषलको बैठकले सार्वजनिक लिखतको प्रमाणीकरण २०७४ को पहिलो संशोधन, प्रदेश सरकारको कार्य सञ्चालन नियमावली २०७४ को पहिलो संशोधन, प्रदेश सरकारको कार्य विभाजन नियमावली २०७४ को पहिलो संशोधनको निर्णय गरिएको हो ।

कर्णाली प्रदेश सरकारका प्रवक्ता एबम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीलेका अनुसार प्रदेश मन्त्रिपरिषदका सदस्यहरुको आचारसंहिता २०७४, प्रदेश मन्त्रीपरिषद सम्बन्धी कार्यविधि २०७४ स्वीकृत भएको छ । यसैगरी मन्त्रिपरिषद बैठकले राजनीतिक, प्रशासन तथा विधेयक र आर्थिक सामाजिक तथा पूर्वाधार समिति पनि गठन गरेको छ ।

मन्त्रीपरिषद बैठकले आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाको संयोजकत्वमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी र भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्री सदस्य रहनेगरी राजनीतिक समिति गठन गरिएको छ भने आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीेको संयोजकत्वमा सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा सदस्य रहनेगरी प्रशासन तथा विधेयक समिति गठन गरेको हो ।

यसैगरी आर्थिक, सामाजिक तथा पूर्वाधार समितिमा सामाजिक विकासमन्त्री दल रावलको संयोजकत्वमा कानूनमन्त्री नरेश भण्डारी र पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्री रहने जनाइएको छ ।

बैठकले रारा कर्णाली पर्यटन वर्ष २०७५ वैशाख १ गते उद्घाटन गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा १५ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । गठित समितिमा प्रदेशका सबै मन्त्रीहरु, प्रमुख सचिव, मन्त्रालयका सचिवहरु सदस्य तथा पर्यटन मन्त्रालयका सचिव सदस्यसचिव रहने निर्णय गरिएको छ ।

पर्यटन वर्षलाई भब्य रुपमा सफल पार्न आर्थिक व्यवस्था समितिको संयोजकमा मन्त्री प्रकाश ज्वाला, आवास तथा सुरक्षा समितिको संयोजकमा मन्त्री नरेश भण्डारी, स्वास्थ्य तथा प्रचारप्रसार समितिको संयोजकमा मन्त्री दल रावल, खाद्य तथा कोशेली व्यवस्थापन समितिको संयोजकमा मन्त्री विमला केसी, पर्यटन वर्ष व्यवस्थापन समितिको संयोजकमा मन्त्री नन्दसिंह बुढा तथा यातायात व्यवस्थापन समितिको संयोजकको जिम्वेवारी मन्त्री खड्गबहादुर खत्रीलाई दिइएको छ ।