कालिकोटमा स्याउ बगैचा व्यवस्थापन अभियान


बिस्नप्रसाद न्यौपाने
फागुन २८, कालिकोट ।

कालिकोट जिल्लाको शान्नित्रिवेणी गाउपालिकाको मुम्रा दुनिकेका करबिर बुढा स्याउको बगैचा व्यवस्थापनमा व्यष्त छन् । उनी बगैचामा रहेका ३ सय बिरुवाहरुको काँटछाँट, जरामा किरा नलागोस् भनेर बोडोपेष्ट लगाउने, मल हाल्ने, सिचाई गर्ने, हिउ तथा बर्षाको पानी संकलनका लागि प्लाष्टिक पोखरी बनाउने काममा लागि परेका छन् । उनले कृषि प्राबिधिक प्रशुराम काफ्लेको सहयोगमा बगैचा व्यवस्थापनका साथै ज्ञान पनि सिक्ने अवसर पाएको बताए । उनी मात्र होईन शान्नित्रिवेणी गाउपालिकाको दुनै, लाँता, गगन डाँडा लगायतका क्षेत्रका गोविन्द केसी, दाने खत्री, महेस केसी लगायतका कृषकहरुले पनि स्याउ बगैचा व्यवस्थापनमा जुटेका छन् ।

जिल्लाका अन्य क्षेत्रका स्थानिय स्याउ कृषकहरुले पनि स्याउ बगैचाहरु व्यवस्थापनका लागि अभियान थालेका छन् । जिल्ला कृषि विकास कार्यालयबाट स्थानिय तहमा खटिएका कृषि प्राबिधिकहरुको सहयोगमा जिल्लाका ग्रामिण समुदायमा स्याउको व्यवसायीक खेती गरिरहेका कृषकहरुले बगैचा व्यवस्थापन अभियान थालेका हुन् । जिल्लाको तिलागुफा नगरपालिका चिल्खाया निवासी कृषक टेकबहादुर शाहीले आफ्नो स्याउ कगैचामा पनि स्याउ बगैचा व्यवस्थापन गर्ने कार्य भईरहेको बताए । चिल्खायाको भट्टाडीका अगुवा कृषक टेकबहादुर शाहीले आफ्नो स्याउ बगैचामा मात्र १ हजार, ८ सय, ५० स्याउका विरुवाहरु रोपिएको बताए । जसमा करीव एक हजार बिरुवाहरु फल्न थालेका छन् । उनका अनुसरा चिल्खायाको भट्टाडीमा मात्र १ सय, ५० भन्दा बढी कृृषकहरु स्याउको व्यवसायीक खेती गरिरहेका छन् ।

कालिकोट जिल्लाको तिलागुफा नगरपालिकाको चिल्खाया, राँचुली, फोइमहादेव, रास्कोट नगरपालिकाको फुकोट, स्यूना, सिपखाना, शान्नित्रिवेणी गाउपालिकाको मुम्रा, मेहेलमुडी लगायतका स्याउ बगैचा भएका ठाँउहरुमा स्थानिय कृषकहरुले स्याउका बिरुवाहरु काँटछाँट गर्ने, मल हाल्लने, गोडमेल गर्ने लगायतका कामहरु भईरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ग्रामिण समुदायमा स्याउको व्यवसायीक खेती गरिरहेका कृषहरुलाई स्याउ बगैचा व्यवस्थापन सम्बन्धि जानकारी दिनुका साथै स्याउ उत्पादनमा बृद्धि गर्ने उद्देश्यले स्याउ बगैचा व्यवस्थापन अभियान थालिएको छ ।

शान्नित्रिवेणी गाउपालिका कृषि शाखा प्रमूख प्रर्शुराम काफ्लेले गाउँपालिकाका बिभिन्न क्षेत्रमा रहेका स्याउका बगैचाहरु व्यवस्थापन अभियान नै थालेको बताए । उनले विगतदेखी हजारौं विरुवाहरु अनुदानमा बितरण गरी कृषकहरुलाई व्यवसायीक स्याउ खेतीका लागि आकर्षित गर्दै आएको बताउदै गाँउपालिकामा बर्तमान समयमा भइरहेको स्याउ उत्पादनमा बृद्धि गर्नु एबम् यस अभियानले अन्य कृषकहरुलाई पनि व्यवसायीक स्याउ खेती प्रति आकर्षित गर्ने बताए । उनले अहिले थालिएको स्याउ बगैचा व्यवस्थापन अभियानले स्याउ उत्पादनमा बृद्धि हुनुका साथै स्याउ खेतीको लागि आवश्यक पर्ने प्राबिधिक ज्ञान पनि कृषकहरुले पाउने बताए । उनका अनुसार यस बर्ष मात्र शान्नित्रिवेणी गाँउपालिकामा ३ हजार, ५ सय, ५० स्याउका बिरुवा बितरण गरिएको छ । जिल्लाका बिभिन्न स्थानिय तहहरुले ४४ हजार स्याउका बिरुवा स्थानिय कृषकहरुललाई बितरण गरेका छन् ।