सरकार-केसी वार्ता निचोडमा पुगेन


केसीको स्वास्थ अवस्था जटिल बन्दै

2307201608485014th_day_Govinda_KC_004-1000x0श्रावण ८, २०७३- सरकार र डा.गोविन्द केसीका प्रतितिनिधिहरूबीच तिन दिनदेखि चलेको औपचारिक, अनौपचारिक वार्ता कुनै निष्कर्षमा पुग्न सकेको छैन । दुवै पक्षले पाएको म्यान्डेटमा जति सुकै प्रयास गरिए पनि कुनै निक्र्यौलमा पुग्न नसकिने निचोडमा वार्ताकारहरु नै पुगेका छन ।

‘तिन दिनदेखि चलेको वार्तालाई सार्थक निष्कर्षमा पुर्याउनेतर्फ अघि बढ्न सकेको छैन’, वार्तामा शरिक केसीका प्रतिनिध डा.जनक सापकोटाले भने-‘अनसनको अडान र सरकारी वार्ता समितिको सिमा (म्यान्डेट) आपसमा मेल नखाएकाले वार्ता सकारात्मक दिशामा अघि बढ्न नसकेको हो ।’
सरकारी वार्ता टोली आवश्यक तयारी र म्यान्डेटका साथ प्रस्तुत हुन नसकेको आरोप केसी पक्षले लगायो ।  ‘वार्ताको नाउमा तिन दिन बिताउने काममात्र भयाो, सरकारी टोली भद्र भएरमात्र वार्ता भंग नगरेको हो’ केसीका एक प्रतिनिधिले भने ।

सरकारी टोलीले वार्तामा राजनीतिक समिति वनाएर समस्या समाधान गर्ने प्रस्ताव गरेको जानकारी दिंदै केसीका प्रतिनिधि सुमन आचार्य भन्छन-‘वार्तामा सरकारी टोलीले समिति बनाएकै भरमा अनसन समाप्त गर्न अनुरोध गरेको थियो ।’

‘सरकारले दर्ता गरेको विधेयक सरकारले फिर्ता लिन सक्ने सर्वमान्य सिद्घान्त भए पनि वार्तामा सरकारी पक्षले मनमोहन प्रतिष्ठानको विधेयक संसदबाट फिर्ता लिन नै मिल्दैन भन्ने अडान राख्यो’, वार्तामा सहभागि एक सदस्यले भने- ‘सरकारी म्यान्डेटमा बाँधिएका कारण सरकारी टोलीले केही कुरामा पनि सहमति गर्न सक्नु हुन्न ।’

ति सदस्यले अधिकारै नदिएर सरकारले वार्ता समिति बनाएको उल्लेख गर्दे भने-‘केसीको मागका वारेमा पनि सरकारले कुनै कुरा स्विकार नगरीकन सहमतिको लागि आग्रह मात्र गरी राखेको स्थिति छ ।’

सरकारी पक्षले भने वार्ताको वारेमा शनिवार कुनै आधिकारिक वक्तव्य दिएको छैन । सरकारी वार्ता टोलीको संयोजक स्वास्थ्य सचिव डा.सेनेन्द्रराज उप्रेतीले केसीका प्रतिनिधिहरुसंग भएको अनौपचारिक कुराकानी पछि शनिबार अवेर राती भने-‘सरकारले जे सक्थ्यो, त्यो प्रस्तुत गरेकै हो, उहाहरु डा.केसी संग परामर्श गरिराख्नु भएको छ, निष्कर्षमा पुग्न अझै एकपटक वार्ता गर्नु आवश्यक छ ।’

चिकित्सक संघ मौन 
डा.गोविन्द केसीको आमरण अनसन १४ औं दिनमा पुग्दा समेत मुलुकमा भएका चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघ मौन देखिएको आरोप युवा डाक्टरहरुको छ । ‘चिकित्सक संघ डा.केसीको आन्दोलनको प्रसंगमा विगतको दाजोमा यसपटक मौन वसेको जस्तो देखिएको छ’, रेजिडेन्ट एसोसिएसन अफ न्याम्सका अध्यक्ष डा.तुलसी भट्टराईले भने । उनका अनुसार तिन वटा रेजिडेन्टहरुको संस्थाले संघलाइ आन्दोलनमा सक्रिय सहभागिताको लागि लिखित आग्रहसमेत गरिसकेको छ ।
नेशनल रेजिडेन्ट डाक्टर्स एसोसिएसनका अध्यक्ष डा.लिजन महर्जनसमेत चिकित्सक संघ यस पटक डा.केसीको आन्दोलनमा प्रभावकारी रुपले नलागेको जस्तो अनुभूति भएको बताए । डा.महर्जनका अनुसार यसपटक संघले डा.केसीको आन्दोलनको विषयमा विज्ञप्ती समेत ढिलो निकालेको थियो ।
‘संघका पदाधिकारीहरुले प्रष्ट केहि भन्नु भएको छैन, तर डा.केसीको दोश्रो माग अर्थात अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई संसदले महाभियोग लगाउनुपर्ने मागको विषयमा असहमति हो कि जस्तो बुझिएको छ’, डा.भट्टराइले भने ।

आफू रात दिन डा.केसी कै आन्दोलनलाइ निकास दिन लागि परेको उल्लेख गर्दे चिकित्सक संघका अध्यक्ष डा.अन्जनी झाले भने-‘डा.केसीको जीवन रक्षाको लागि हामी लागेका छौं, को, के भन्छ त्यस पछि हामी लाग्दैनौं ।’

केसीको माग पूरा गराउन चिकित्सक संघ कडा रुपमा प्रस्तुत नभए युवा डाक्टरहरुले आफै सशक्त आन्दोलन सञ्चालन गर्ने चेतावनीसमेत डा.भट्टराइले दिए ।

स्वास्थ्य जटिल बन्दै 
आमरण अनसनको १४ औं दिन समेत डा.गोविन्द केसीले पहिले जस्तै घाँटीको समस्या संगै टाउको-छाती दुखाइ, जिउ दुृखाइ र मांशपेशी वाउडिने समस्या देखिएको छ ।

उपचारमा संलग्न प्रा.डा.दिव्या सिंह शाहको अनुसार  केसीको रक्तचाप अझै कम नै छ । यस्तै उनको मुटूको केहि चाल समेत अनियमित देखिने क्रम जारी नै छ ।

निरन्तर अक्सिजन लिइ रहेका डा.केसी को रगतमा पोटेसियम, क्याल्सियम, म्याग्नेसियम जस्ता जीवन उपयोगी तत्वहरुको मात्रा कम नै छ । केसीलाइ देखिएको फेरेन्जाइटिस अझै निको भएको छैन ।

साभारः कान्तिपूर अनलाइन