तलेजुमा दिनहुँ दर्शन गर्न पाइन्छ


१९ चैत्र, काठमाडौं- राजाका इष्टदेव मानिने राजधानीको हनुमानढोकास्थित तलेजु भवानी मन्दिर पहिले बडादसैंअन्तर्गत महानवमीका दिन मात्र खुल्थ्यो, अन्य दिन सधैं बन्द रहन्थ्यो। तलेजु दर्शन गर्न चाहनेले वर्षभरि त्यही दिन कुर्नुपर्थ्याे।राजतन्त्र अन्त्यपछि भने त्यो अवस्था रहेन। पुजारीका अनुसार दैनिक बिहान नित्यपूजाका लागि मन्दिर खुलेका बेला तलेजु दर्शन गर्न इच्छुकले जोसुकैले त्यो अवसर पाउँछन्।महेन्द्र मल्लका पालामा बनेको तलेजुमा दैनिक नित्यपूजाका लागि खुल्ने समयमा देशका प्रधानमन्त्री, मन्त्री, सरकारी अधिकारी, विभिन्न दलका नेता र स्थानीय दर्शनार्थीलाई खुकुलो गरिएको हो।
पछिल्लो सोमबार नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवा दम्पती केही नेतासहित तलेजु पुगेर पूजाआजा गरेका थिए। फागुन ६ गते पनि प्रधानमन्त्री केपी शर्मा ओली श्रीमती र अन्य सरकारी अधिकारीसहित तलेजुको दर्शन गरी फर्केका थिए।
ओली दम्पतीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल, राज्यमन्त्री बलबहादुर महत, सचिव प्रेमकुमार राई, काठमाडौं महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रु›सिंह तामाङ, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालको समेत पूजामा उपस्थिति थियो।

केही वर्ष अघि तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई पनि तलेजु दर्शन गर्न पत्नी हिसिला यमी र केही सरकारी अधिकारीसँग पुगेका थिए। पूजामा संलग्नहरुका अनुसार पूर्वराजपरिवारका सदस्यहरु पनि बेला बेला तलेजु दर्शनका लागि पुग्ने गरेका छन्।

तलेजु दर्शनमा अहिले पनि सर्वसाधारणले चाहेमा पठाउने गरेको १९ वर्षदेखि नित्यकर्मको जिम्मेवारी पाएका पुजारी उद्धव कर्माचार्यले बताए। उनका बाउबाजेहरुले नै तलेजुमा नित्यकर्म गरिआएको पनि जानकारी दिए।

‘कसैलाई भित्री मनैदेखि दर्शन गर्ने इच्छा भए कसैले रोक्दैन,’ उनले नागरिकसँग भने, ‘राजाको समयका बेला छुट्टै नियम भए पनि अहिले केही खुकुलो भएको छ।’

अन्य मन्दिरमा झैं दिनभर र ठूलो समूहलाई एकैपटक दर्शनको व्यवस्था भने नहुने उनले जानकारी दिए। दैनिक ९ बजेदेखि करिब २ घन्टा नित्यकर्मको समयमा दर्शन गर्न चाहनेलाई बाधाअवरोध नभएको उनले स्पष्ट पारे।

‘अन्य मन्दिरजस्तो तलेजु जान सहज छैन, यहाँको ऐतिहासिक क्षेत्रको सुरक्षा पनि चुनौती हो,’ उनले भने, ‘परम्परा नै वर्षमा एकपटक मात्र खोल्ने रहेको छ। कुनै व्यक्ति तलेजुमा ठूलो विश्वास राख्छ भने अहिले उसलाई रोकटोक हुँदैन।’

वसन्तपुरका स्थानीय गणपतिलाल श्रेष्ठले पनि कहिलेकाहीँ कामको सिलसिलामा हनुमानढोका दरबारभित्र पुग्दा दर्शन गर्न कसैले नछेकेको अनुभव सुनाउँछन्। ‘भगवानको अस्थामा विश्वास गर्नेले तलेजु मन्दिर बाहिरैबाट हेरेर पनि दर्शन गर्छन् किनकि दसैंमा मात्र भित्र पस्न पाइन्छ भन्ने सबैलाई थाहा छ,’ उनले भने, ‘जब मन्दिरवरपरका स्थानीय नै परम्पराका पक्षमा छन् भने र चाहेको बेला भित्र दर्शन पाउँछन् भने नराम्रो कुरा केही भएन।’


वर्षको एक दिन मात्र मन्दिर खुल्ने परम्परा सांस्कृतिक रहेको उनले बताए। पशुपतिमा शिवरात्रि, तिजमा किन विशेष मेला लाग्छ? रानीपोखरी किन भाइटीकाको दिन खुल्छ?’ यस्ता प्रश्नको जवाफ जस्तै दसैंमा तलेजुको विषेश महत्व रहेको उनको भनाइ छ। त्यसैले दिनदिनै भक्तजनको भिड हुँदा तलेजुको महत्व घट्न सक्ने स्थानीयको चिन्ता देखिन्छ।

नरदेवीका ३१ वर्षीय राजेन्द्र श्रेष्ठ सानैदेखि यो मन्दिर दसैंमा मात्र खुल्ने गरेको सुनाउँछन्। ‘सानैदेखि सुनेको हुनाले हामीलाई अहिले दिनदिनै दर्शन गर्न पनि खासै मन लाग्दैन,’ उनले भने, ‘जसरी दसंैमा शक्तिपीठ दर्शन गरिन्छ, तलेजु भवानी पनि शक्तिपीठ हुँदा त्यही बेला दर्शन गर्दा आनन्द लाग्छ।’

तलेजु बाहिरको कागेश्वर महादेवको मन्दिर पनि इन्द्रजात्रा सुरु भएको दिन मात्र दर्शनका लागि खुला हुन्छ। भूकम्पले माथिल्लो भाग भत्काए पनि वर्षको एकै दिन मात्र विशेष महŒव त्यस मन्दिरको पनि रहेको स्थानीय बताउँछन्।

काठमाडौंको इतिहासकालमा छुट्टाछुट्टै राज्य रहेका काठमाडौं, भक्तपुर र पाटन दरबार क्षेत्रमा रहेका मल्ल राजाले आफ्ना दरबारभित्र यसरी इष्ट देवता तलेजु भवानीको स्थापना गरेको पाइन्छ। हनुमानढोका दरबार क्षेत्रमा जस्तै पाटन र भक्तपुर क्षेत्रमा पनि तलेजु भवानीका मन्दिर छन्। यसबाहेक कतिपय देवीदेवताका मन्दिहरुमा कुनै समुदाय बाहेक अन्य व्यक्तिहरु छिर्न नपाउने व्यवस्था पनि काठमाडौंमा छ।

‘हनुमानढोका दरबार क्षेत्र हो र यहाँ राजाहरुले आफू मैत्री मन्दिरहरुको स्थापना गरेको उदाहारण तलेजु भवानी हो,’ मन्दिरका पुजारी कर्माचार्यले भने, ‘पशुपतिमा सबै दिन खुल्छ भन्दैमा यो खुल्नुपर्छ भन्ने होइन।’

तलेजुमा अहिले पनि पूर्वराजपरिवारका सदस्य आउने गरेको उनले बताए। ‘म राज्यले राखेको पुजारी हुँ। त्यसैले यहाँ जोसुकै आउन पनि पाउने भन्ने होइन,’ उनले भने, ‘तलेजुमा गहिरो आस्था छ भने केही व्यक्तिलाई पूजाको व्यवस्था गर्न सकिन्छ।’

सर्वसाधारणलाई मन्दिर परिसरमा पूजा गर्ने, घुम्ने र बत्ती बाल्ने काम गर्न नरोकिने उनले जनाए। ‘कतिपय आफ्ना कोही बिरामी छन् भने तलेजुमा पूजा गर्न आउँछन्,’ उनले भने, ‘सरकारले नै निर्णय गरे र सुरक्षाको व्यवस्था गरिदिए अन्य मन्दिरजस्तै पूजा गर्न पाउन सक्छन्।’

तलेजुमा दर्शनार्थी भित्रै छिर्ने प्रचलन २०४६ सालमा बहुदलपछि सुरु भएको उनले जनाए। तर राजतन्त्र आएपछिको जस्तो खुकुलो भने नभएको उनले जानकारी दिए।

‘तेल पेल्ने पेसा अँगालेका मानन्धर समुदायले दरबारमै निवेदन हालेर बत्ती बाल्न अनुमति खोजे,’ उनले भने, ‘त्यतिखेरै १७ जनालाई मात्र यस्तो सुविधा दरबारले दियो।’ अहिलेसम्म पनि उक्त समुदाय महिनाको दुई दिन (पूर्णिमा र चतुर्दशी) बत्ती बाल्न तलेजु मन्दिर पुग्छन्।

पुजारीलाई तलब र पूजा सामग्री व्यवस्थापन गर्दै आएको गुठी संस्थानले भने अहिलेसम्म तलेजुमा यसरी मान्छे छिराएको जानकारी पाएको छैन। मौखिक रुपमा जानकारी पाए पनि संस्थागत नआएको संस्थानका प्रवक्ता सरोज थपलियाले नागरिकलाई बताए।

‘अहिले भगवान दर्शन गर्न पाउने/नपाउने भन्ने विवाद आएको छैन,’ उनले भने, ‘राज्यको व्यवस्था प्रणाली नै परिवर्तन भएपछि कसैले माग गरे अन्य मन्दिरजस्तै दर्शनको व्यवस्था हुन सक्छ। यसका लागि चुस्त व्यवस्थापनसहित सरकारको विशेष ध्यान चाहिन्छ।’

संस्कृतिविद चुन्दा बज्राचार्य पनि दैनिक केही सर्वसाधारण दर्शनका लागि मन्दिर पुग्ने गरेको बताउँछिन्। ‘दसैंका बेला खोल्ने परम्परा हो,’ उनले भनिन्, ‘मेरै साथीहरु पनि अन्य बेला पनि दर्शन गर्न पुगेको देखेकी छु। कसैलाई इच्छा छ भने त दिनुपर्योह नि!’

मल्ल राजाले तलेजुलाई कुल देवता मानेकाले अन्य बेला नखोलेको इतिहास हुन सक्ने उनले औंल्याइन्। ‘त्यहाँ हुने नित्यपूजा मल्लकाल देखि कै हो,’ उनले भनिन्, ‘यसबीचमा कसैले सधैँ दर्शन पाउनुपर्छ भनेर गुनासो गरेको छैन। त्यसैले विवादको कुरै छैन। सबै कुरा समझदारीमै भइरहेको छ।’

साभारः नागरिक अनलाइन