अविरल ढकाल, जुम्ला
चैत्र ५
सुदुर तथा मध्यपश्चिमका विभिन्न जिल्लामा जरा गाडेर रहेको छाउपडी प्रथालाई जुम्लाका महिलाहरुले छाउमुक्त गोठ र छाउमुक्त गाँउ बनाउने अभियानमा लागेका छन् । पातारासी गाउँपालिका ५ माथि ल्होर्प गाउँका महिलाहरुले छुइगोठ मुक्त गरेका छन् ।
सदियौँ देखि समाजमा जगडिएर रहेको कुसंस्कार छुइ भएको अवस्थामा गोठमा नबस्ने भन्दै मुक्त गरेका हुन् । माथि ल्होर्प गाउँका महिला तथा पुरुषहरुको अगुवाई तथा पातारासी गाउँपालिका र सर्वोदय नेपाल जुम्लाको प्राविधिक समन्वयमा उक्त गाउँ तथा बस्तीलाई चैत्र ५ गते छुइगोठ मुक्त घोषणा गरिएको हो ।
छुइगोठ मुक्त अभियान कर्ता तथा कार्यक्रमकी सभाध्यक्ष दिपा बुढाले आजका मितिबाट हामी महिला ७ दिने जेलबाट मुक्त भएको बताईन् । उनले भनिन् छुइगोठअर्थात महिनावारी भएको अवस्थामा हामी महिला ७ दिनसम्म छुइगोठमा विभिन्न कष्टका साथ रात विताउने गरेका थियौँ । अव हामी महिला सचेत भएका छौँ महिनावारी भएको अवस्थामा छुइगोठमा बस्दा विभिन्न रोगबाट सक्रमित हुनु साथै असुरक्षित हुने गरेकाले सरसफाई गरी घरभित्रै बस्ने अठोट गरेका छौँ ।
पातारासी गाउँपालिकाका प्रशासकिय अधिकृत रामबहादुर बुढाले छुइगोठ अर्थात महिनावारी हुनु भनेको यो एक प्राकृतिक प्रक्रिया हो, हामी सचेत नागरिकले समाज रहेको कुस्कारलाई न्यूनिकरण गर्दै सव्य समाज निर्माण गर्नुपर्नेमा जोड दिए ।
छुइगोठ मुक्त अभियान्ता र्सबाेदय नेपाल जुम्लाका कार्यकारी निर्देशक कमलराज खत्रीले छुइगोठ अर्थात महिनावारी स्वभाविक प्रक्रिया हो तर यसको गलत अर्थ लगाएर समस्या भएको बताए । उनले यो कुस्कार छुइगोठ प्रथालाई समाजबाट निमुलीकरण गर्नुपर्ने भन्दै यस अभियानलाई निरन्तरता दिने जोड दिए ।
छुइगोठ मुक्त अभियान कर्ता सम्मानित
छुइगोठ मुक्त अभियान कर्ता दुइ जोडी सम्मानित भएका छन् । पातारासी गाउँपालिका ५ माथिल्होर्प गाउँका प्रकाश बोहोरा र उनकी पत्नि सुस्मा बोहोरालाई सम्मान गरिएको हो । त्यसैगरी मष्टोका धामी दिपकबहादुर बुढा र उनकी पत्नि पुष्पा बुढालाई पनि सम्मान गरिएको वडाअध्यक्ष डिलबहादुर बुढाले बताए । सम्मानित अभियान्ताहरुलाई ढाँका टोपी र दोसल्लाह ओडाएर सम्मान गरिएको थियो ।
जुम्लाका सात गाउँबस्ती छुइगोठ मुक्त घोषणा
जुम्लाका सात वटा गाउँबस्ती छुइगोठ मुक्त घोषणा भएका छन् । पातारासी गाउँपालिका वडा नम्बर ५ मा पर्ने माथिल्होर्प र लल्लोल्होर्प, तिला गाउँपालिकाको ढिमकोट, रावतवाडा र गोडीबाडा छुइगोठ मुक्त घोषणा भएका छन् भने त्यसै गरी तातोपानी गाउँपालिकाको श्रीनगर र हियाखोला छुइगोठ मुक्त भएका थिए । जुम्लाका सयौँ गाउँबस्ती मध्ये सात वटा गाउँबस्ती छुइगोठ मुक्त भएको हुन् ।



Milan Shrestha । ६ चैत्र २०७४, मंगलवार ०१:५८ बजे