नआई दियोस २०७५


                      चित्रसिंह गाँउले
देशका लागि भुकम्प र नाकाबन्दी ल्याएर
देउवाका लागि फेरि चवत्तर साल दोहोर्याएर
प्रचण्डको लागि कसैलाई रुक्माङ्गद बनाएर
ओलीलाइ अविश्वासको प्रस्ताव दोहरिने गरेर
पत्रकारहरुलाई शाही घोषणा फर्काएर
कानून प्रयोगकर्तालाई गोपाल पराजुली वनेर
नआईदेवस २०७५।
विमान चढ्नेहरुलाई एअर बंगला बनेर
वस चढ्नेहरुलाई किट्टु र विर्तामोड भएर
लोकमानसिंह कार्कीको जस्तै त्रिहत्तर साल बनी
ज्ञानेन्द्रको जस्तै वैसठ्ठी त्रिसट्ठी साल बनेर
वीरेन्द्रको जस्तै २०५९ साल बनेर कसैलाई
मदन भण्डारीको जस्तै २०५० साल भएर
नआईदेवस २०७५।
समृद्धिको यात्रामा केपीलाई उर्जा नदिने गरि
धुर्मुस सुन्तलीको समाजसेवामा तगारो बन्ने गरि
डाक्टर गोविन्द केसीका जायज मागपनि विर्सन
कोही रातारात विनोद चौधरी अनि कोही टाट पार्न
विकास खोजिरहेकालाई बिनास थुपार्न
मेलमिलाप बिथोल्दै अशान्ति मच्चाउन
नआईदेवस २०७५ ।
केरुङ रसुवागडी र नाक्चेलाग्ना नखुल्ने गरि
शिरस्थानको पेट्रोल खानी उत्खनन् नहुनका लागि
सुकुम्बासी सुकुम्बासी नै भैरहन पर्ने हो भने
सुनथराली टेष्टफ्लाइटमै राखिराख्न
शेरी पान्तडी र महावु गाल्जे अपुरै रहने भएमा
अस्पतालमा गएर ज्यान चढाउन
म्यादीमा गएर गोली पचाउन
धारामा पानी, स्कुलमा शिक्षा नपाउन
नआईदेवस २०७५।
जनप्रतिनिधिलाई धनप्रतिनिधि बनाईरहन
संघीयतालाई अस्तव्यस्ततामा धकेल्न
कानून बनाउने हातहरुलाई गलत दिशातिर लिन
पुच्छरले भैंसी हल्लाउँदै हिंड्ने बनाइराख्न
नेपालीका मुहारको मुस्कानलाई खोस्न
घरगाउँ र आँगनको खुशियाली लुट्न
नआईदेवस २०७५।