रक्तदान गरेर विश्व रक्तदाता दिवस सुर्खेतमा पनि मनाईयो


३१ जेठ, सुर्खेत । “One Drop of Humanity: Give Blood, Save Lives (मानवताको एक थोपाः रगत दिउँ, जीवन बचाऔं)” भन्ने मूल नाराका साथ आज नेपालसहित विश्वभर २३औँ विश्व रक्तदाता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

यसै अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेत शाखाले वीरेन्द्रनगरमा आयोजना गरेको रक्तदान कार्यक्रममा १६ पिन्ट रगत संकलन भएको छ । समाजका अध्यक्ष अशोक कुमार सिंहका अनुसार कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

रक्तदान कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुर्खेत क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य रमेशकुमार सापकोटासहित विभिन्न सामाजिक व्यक्तित्वहरूले रक्तदान गर्नुभएको थियो । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य प्रवाश कुमार शाक्यले रक्तदानको महत्वबारे प्रकाश पार्दै भन्नुभयो, “रगतको विकल्प रगत नै हो । कुनै पनि प्रयोगशालामा रगत उत्पादन गर्न सकिँदैन । त्यसैले मानवीय जीवन रक्षा गर्न नियमित र स्वैच्छिक रक्तदान अपरिहार्य छ ।”

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतका सभापति रामलाल आचार्यले रक्त सञ्चार सेवामा स्वयंसेवी रक्तदाताहरूको योगदान अतुलनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरिरहेको रक्त सञ्चार केन्द्रमा आवश्यक पर्ने रगतको प्रमुख स्रोत स्वयंसेवी रक्तदाताहरू नै हुन् । त्यसैले सम्पूर्ण स्वस्थ नागरिकलाई नियमित रक्तदान गर्न आग्रह गर्दछु ।”

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र सुर्खेतले प्राविधिक सहयोग गरेको थियो ।

यसैबीच, हालै वीरेन्द्रनगर नगरपालिकाले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा कर्णाली प्रदेश अस्पतालमा उपचाररत बिरामीहरूका लागि निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था सुरु गरेको छ । त्यस्तै कर्णाली प्रदेश सरकारले पनि रेडक्रससँगको सहकार्यमा प्रदेशका विपन्न नागरिक तथा ज्येष्ठ नागरिकहरूलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।