
जेठ ३१, कास्की । “One Drop of Humanity: Give Blood, Save Lives (मानवताको एक थोपाः रगत दिउँ, जीवन बचाऔं)” भन्ने मूल नाराकालाई आत्मसात गर्दै २३औँ विश्व रक्तदाता दिवसको अवसरमा पोखरामा जनचेतनामूलक र्याली, सदस्यता वितरण, नियमित रक्तदाताको सम्मान तथा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष दिपेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल मणिपाल शिक्षण अस्पतालका निर्देशक प्रोफेसर डा. अभिषेक मास्केले पानसमा दीप प्रज्वलन गरी तथा रक्तदातालाई रक्तथैली हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा २५ जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेका थिए । साथै, ५० पटकभन्दा बढी रक्तदान गरेका रक्तदाताहरूलाई सम्मान समेत गरिएको थियो । सम्मानित रक्तदाताहरूको योगदानको प्रशंसा गर्दै वक्ताहरूले रक्तदानलाई मानवीय सेवाको उत्कृष्ट उदाहरण भएको बताएका थिए ।
कार्यक्रमअघि आयोजित जनचेतनामूलक र्याली मानवअधिकार चोकबाट सुरु भई महेन्द्रपुल हुँदै होटल दि–भिलेज पुगेपछि औपचारिक कार्यक्रममा परिणत भएको थियो । र्याली मार्फत रक्तदानको महत्वबारे सर्वसाधारणलाई सचेत गराउने प्रयास गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकाल, पोखरा महानगरपालिका वडा नं. १० का वडा सदस्य पूर्णचन्द्र न्यौपाने, वडा नं. १५ का वडा सदस्य आशिष भण्डारी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका निवर्तमान सभापति डण्डराज शर्मा, प्रादेशिक रक्तसञ्चार प्रमुख अर्जुन ज्ञवाली, नेपाल थोक औषधि व्यवसायी संघका केन्द्रीय सचिव गोपाल अधिकारी, रोटरी क्लब अफ पोखरा भ्यालीका अध्यक्ष विजयराज आचार्य, नगर युवा परिषद् पोखरा महानगरपालिकाका कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपाने तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा–२५ का सभापति नेत्रमणि भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
वक्ताहरूले रक्तदानलाई मानव जीवन बचाउने सबैभन्दा सरल र प्रभावकारी माध्यमको रूपमा व्याख्या गर्दै नियमित रक्तदान संस्कृतिको विकास गर्न सबै नागरिकलाई आग्रह गरेका थिए । उनीहरूले सुरक्षित र पर्याप्त रगतको उपलब्धता सुनिश्चित गर्न स्वयंसेवी रक्तदाताको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।
कार्यक्रममा उपस्थित अतिथि तथा स्वयंसेवी रक्तदाताहरूलाई संस्थाका उपाध्यक्ष उपेन्द्र अधिकारीले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव विशाल अर्यालले गर्नुभएको थियो।
विश्व रक्तदाता दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमले रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै नियमित रक्तदाताहरूको योगदानको सम्मान गर्दै समाजमा मानव सेवाको सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ ।




Prawash Kumar Shakya । ३१ जेष्ठ २०८३, आईतवार १८:४२ बजे