परीक्षा केन्द्रमा चिट चोराउन अभिभावकको भीड


१८ चैत्र, दैलेख–यहाँका परीक्षा केन्द्रमा बिहीबार पहिलो दिनको परीक्षामा अभिभावकको भीड देखियो। परीक्षा केन्द्रमा आउनेहरु मध्ये अधिकांशको उद्देश्य थियो परीक्षामा सहभागी विद्यार्थीलाई सिकाउने र चिट चोराउने।दैलेख सदरमुकामस्थित त्रिभुवन नमुना उच्च मावि परीक्षा केन्द्रमा अभिभावकहरुको भिडले त्यहाँको माहौल हो–हल्लामा परिणत भयो। परीक्षार्थी भन्दा बढी चिट चोराउन जुटेका अभिभावक थिए।
प्रमुख जिल्ला अधिकारी लुकबहादुर खत्री परिक्षा केन्द्रमा पुग्दा उनले केन्द्र बाहिरको भीड छिचोल्नु परेको थियो। तर उनले भिड हटाउने कुनै प्रयास गरेनन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बिसीले बाहिरा हो–हल्ला भएपनि भित्र सामान्य रहेको दाबी गरे।

जिल्लाका ३१ परीक्षा केन्द्रमा बिहीबार अंग्रेजी बिषयको परीक्षा सम्पन्न भएको छ। दैलेखमा नियमित तर्फ ५ हजार ५ सय २२ र आंशिक तर्फ ४ हजार १ सय ४३ र प्राविधिक तर्फ ८१ जना गरी जम्मा ९ हजार ७ सय ४६ परीक्षार्थी सहभागी भएका छन्।

हाजिरी नपुगेका कारण जिल्लामा ८० जना विद्यार्थी परीक्षा दिनबाट बञ्चित भएका जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारीले बताए। ३१ परीक्षा केन्द्रका केन्द्राध्यक्ष सहित ३ सय ९८ निरीक्षक, २ सय ९ जना सहयोगी र सुरक्षाकर्मी परीक्षा व्यवस्थापनमा खटिएको जिल्ला शिक्षा अधिकारीले जानकारी दिए।

साभारः नागरिक अनलाइन