सुर्खेत सिटी बसपार्क निर्माणमा तिब्रता


20161124-120159-826x398सुर्खेत, ९ मंसिर । धेरैवर्षसम्म रोकिएको सुर्खेतको सिटी बसपार्क निर्माणको काम पछिल्लो समयमा तिब्रता पाएको छ । बसपार्क निर्माण कार्य ६० प्रतिशत पुरा भइसकेको र बाँकी काम चैत मसान्तसम्म सम्पन्न गर्ने योजनाका साथ काम भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

राजनीतिक दल र नगरपालिकाको लामो प्रयासपछि कुइनेपानी क्षेत्र नजिक ६ करोड ८२ लाख रुपैयाँको लागतमा सिटी बसपार्क निर्माणको काम भइरहेको हो । १५ महिनामा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको च्याङमिला नरसिंह जेभिले एक वर्षमै काम सम्पन्न गर्ने योजनाका साथ लागेको निर्माण व्यवसायीका प्रतिनिधि नरसिंह धामीले जानकारी दिए ।

बसपार्क निर्माण कार्य १५ महिना भित्र गरिने सम्झौता गरिएको भएपनि निर्माण कार्य १ वर्षभित्र पुरा गर्ने निर्माण व्यवसायीका प्रतिनिधि नरसिंह धामीले बताए । उनले बसपार्कमा ५६ वटा पसल कबल बनाइसकिएको र आधाजति कबलमा सटर लगाइसकिएको जानकारी दिए ।

निर्माण व्यवसायी धामीले चैत मसान्तसम्म काम पुरा गर्ने योजनाका साथ काम तिब्र रुपले बढाइएको जानकारी दिए । बसपार्क निर्माणका लागि सबै सामान आइसकेको र टर्मिनल भवनको काम भइरहेको उनको भनाई छ ।

बसपार्क भित्र निमार्ण भइरहेको भवनको ढलान गरी सकिएपछि पुस महिनामा ७० प्रतिशत काम पुरा हुने उनले बताए । उनका अनुसार सिटी बसपार्कको निर्माणमा वर्कसपको काम चलिरहेको र वर्कसपमा जस्तापाता हाल्न बाँकी छ ।

व्यवसायी धामीले पर्खाल वरिपरिे तारजाली लगाउन बाँकी रहेको बताए । उनले बसपार्क निर्माणको सम्पन्न कार्य असारसम्म रहेपनि चैत मसान्तसम्म सम्पन्न गर्ने योजनाका साथ आफु लागिपरेको बताए । चैत मसान्तसम्म सिटी बसपार्क निर्माण सकेर बैशाखमा नगरपालिकालाई हस्तान्तरण गरिने निर्माण व्यवसायी धामीले जानकारी दिए । उनका अनुसार सिटी बसपार्क निर्माण कार्यको अहिलेसम्म २ करोड भुक्तानी भइसकेको छ् । भवन निमार्णको काम पुरा लगत्तै बसपार्क कालोपात्रे गरिने निमार्ण व्यवसायीका प्रतिनिधि धामीले जनाएका छन् ।

यसैगरी वीरेन्द्रनगर नगरपालिका सुर्खेतका इन्जिनियर जनकबहादुर शाहीले सम्झौता गरेको च्याङमिला नरसिंह जेभिले बैशाखमा बसपार्क हस्तान्तरण गरेपछि सञ्चालनको प्रक्रियामा जाने बताए । बसपार्क निर्माण पुरा भएको वर्ष देखि नगर विकास कोषलाई वार्षिक रुपमा व्याज र किस्ता गरी करिब ८० लाख रुपैयाँ तिर्नु पर्ने छ भने बसपार्कको वार्षिक आम्दानी १ करोड २ लाख रुपैयाँ हुने अनुमान गरिएको नगरपालिकाले जनाएको छ ।

सिटी बसपार्क निर्माण गर्न वीरेन्द्रनगर नगरपालिकाले नगर विकास कोषको सहयोग लिएको छ । जुन ऋण सहयोगको रकममा वार्षिक साढे पाँच प्रतिशत व्याज भुक्तानी गर्नु पर्ने छ । नगर विकास कोषबाट लिएको रकम २० वर्षमा चुक्ता गर्नु पर्ने सम्झौतामा उल्लेख छ । ऋण २० वर्षमा चुक्ता गर्नु पर्ने भएपनि निर्माणको अवधि २ वर्षमा भने व्याज लाग्ने छैन् । १८ वर्षको मात्रै व्याज तिर्नु पर्ने सम्झौता छ ।

साभारः खबरइरा अनलाइन