४० वटा विद्युतिय उपकरण निर्माण गरे ओलीले


चैत्र १०, सुर्खेत ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका–११, का वसन्त ओलीले विभिन्न ४० वटा विदुतिय उपकरण निर्माण गर्नुभएको छ । दाङको पद्मोदय पब्लिक नमूना माविमा डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत ओलीले विभिन्न ४० ओटा विद्युतिय उपकरण प्रयोग गरेर नयाँ उपकरणको निर्माण गर्नुभएको हो ।

रुकुमको सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा ओलीले ६ महिनाको अवधिमा घरायसी प्रयोगमा आउने उपकरण निर्माण गरेको उहाँले जानकारी गराउनुभयो । सर्बप्रथम एसी पावरलाई डीसी र डीसी पावरलाई एसीमा परिवर्तन गर्ने उपकरण निर्माण गरेका ओलीले हाल जिएसएम कन्ट्रोलरसम्म निर्माण गर्नुभएको छ । निर्माण गरीएका ४० विद्युतीय उपकरणमध्ये अहिले वाटर सेन्सर मात्रै बजारमा छ ।

ओलीले पहिलो चरणमा निर्माण गरेका सय वटा वाटर सेन्सर बिक्री भएको र अब दश हजार वाटर सेन्सर बनाउने तयारीमा रहेको जानकारी दिदै वाटर सेन्सरले ट्याङ्कीको पानी सकिएको खण्डमा स्वचालित रुपमा मोटर खोल्ने र ट्याङ्ककी भरिएपछि स्वचालित रुपमा नै पानी तान्ने मोटर बन्द हुने बताउनु भयो । यसको माग बढिरहेको भन्दै ओलीले उपकरण घरायसी काममा प्रयोग हुने गरेको पनि पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।